चितवनमा नेभो क्यू०५ को ‘डेब्यु’, अर्को साता एसयूभी सार्वजनिक हुँदै

काठमाडौं । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड नेभोले आफ्नो नयाँ एसयूभी क्यू०५ नेपाली बजारमा विस्तार गर्ने तयारी गरेको छ। उक्त मोडललाई आगामी साता चितवनमा औपचारिक रूपमा सार्वजनिक गरिँदैछ।

एमएडब्लू वृद्धि अटोकर्पको चितवनका लागि आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले क्यू०५ को लन्च कार्यक्रमको तयारी गरिरहेको छ।

कम्पनीले क्यू०५ लाई सामान्य कम्प्याक्ट एसयूभीभन्दा फरक बनाउने प्रयास गरेको जनाएको छ। यसको मुख्य ध्यान ठाउँको उपयोग, यात्रु आराम, आकर्षक डिजाइन र आधुनिक प्रविधिमा केन्द्रित गरिएको छ। यसमार्फत माथिल्लो सेग्मेन्टका गाडीमा पाइने अनुभव दिने लक्ष्य राखिएको छ।

शहरी क्षेत्रमा प्रयोग गर्न सहज हुने गरी गाडीको आकार निर्धारण गरिएको छ भने भित्री भागलाई भने सकेसम्म खुला र उपयोगी बनाइएको छ। २,७३५ एमएम लामो ह्वीलबेसका कारण पछाडिको भागमा समेत यात्रुका लागि पर्याप्त लेगरुम उपलब्ध हुन्छ। पछाडिको सिटमा तीन जना वयस्क बस्न मिल्ने व्यवस्था छ। यात्रुको सहजताका लागि उक्त सिटलाई २८ डिग्रीदेखि ३३ डिग्रीसम्म ढल्काउन सकिन्छ।

आरामलाई थप प्राथमिकता दिँदै सिट निर्माणमा नौ तहको संरचना अपनाइएको छ। यसले सिटको नरमपन, शरीरलाई दिने सपोर्ट र दीर्घकालीन टिकाउपनबीच सन्तुलन मिलाउने उद्देश्य राख्छ। क्याबिनभित्र यात्रुले धेरै छोइरहने स्थानमा सफ्ट–टच सामग्री प्रयोग गरिएको छ। त्यस्तै, ड्राइभिङका क्रममा आउने आवाज तथा कम्पनलाई घटाउन ६७ भन्दा बढी एनभीएच नियन्त्रण उपाय समावेश गरिएको छ।

क्यू०५ को अर्को आकर्षण यसको डिजाइन हो। चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जिकोराको नेतृत्वमा विकास गरिएको डिजाइनमा विश्वका ३१ देशबाट ९१५ भन्दा बढी डिजाइन विज्ञ जोडिएका थिए। अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाएको यही डिजाइनले २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड जितेको छ।

गाडीको अगाडिको भागमा प्रयोग गरिएको डिजिटल विङ २.० फ्रन्ट सिग्नेचर र पछाडिको स्टार रिङ म्याट्रिक्स टेललाइटले क्यू०५ को बाहिरी रूपलाई छुट्टै पहिचान दिन्छ। डिजाइन केवल देखावटीमा सीमित नरहेको यसको ०.२६५ सीडी ड्र्याग कोइफिसियन्टले देखाउँछ, जसले हावाको प्रतिरोध घटाउन मद्दत गर्छ।

पावर र चार्जिङतर्फ क्यू०५ मा ५१.९ किलोवाट आवर क्याटल एलएफपी ब्याट्री राखिएको छ। यसमा गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ। चार्जर, तापक्रम र सञ्चालन अवस्था अनुकूल रहेमा थ्री–सी फास्ट चार्जिङमार्फत ब्याट्रीको चार्ज स्तर करिब १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन सकिने कम्पनीको भनाइ छ।

सुरक्षा तथा ड्राइभिङ सहायताका लागि क्यू०५ मा ५४० डिग्री क्यामेरा उपलब्ध छ। यसले गाडीको चारैतिरको अवस्थासँगै तल्लो भागसमेत निगरानी गर्न सहयोग गर्छ। मोडलको भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर असिस्टेन्स फिचर उपलब्ध गराइनेछ, जसले चालकलाई गाडी चलाउँदा थप सहजता र सुरक्षा दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *