डिजिटल नेपाल कन्क्लेभ २०२६ भदौ ११ मा हुने

काठमाडौं । नेपालको डिजिटल रूपान्तरणसँग सम्बन्धित नीतिगत तथा प्रविधिगत विषयमा केन्द्रित डिजिटल नेपाल कन्क्लेभ २०२६ को पाँचौं संस्करण भदौ ११ गते आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मेलनका रूपमा आयोजना हुँदै आएको कन्क्लेभ यसपटक ‘डिजिटल गभर्नेन्स, डेटा र डिजिटल इकोनोमी’ विषयमा केन्द्रित हुनेछ ।

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनमा डिजिटल रूपान्तरणसँगै सरकारी सेवा प्रवाह, डेटा व्यवस्थापन, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रलगायत विषयमा छलफल गरिनेछ ।

कन्क्लेभमा तीनवटा ‘किनोट’ प्रस्तुति, पाँचवटा विषयगत प्यानल छलफल र एउटा ‘पावर डायलग’ सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न सत्रमार्फत नेपालमा भइरहेका डिजिटल प्रयास, त्यसका चुनौती तथा आगामी दिनको सम्भावनाबारे विज्ञ तथा सरोकारवालाबीच विचार आदानप्रदान गरिनेछ ।

सम्मेलनमा नेपालमा विकास गरिएका विभिन्न प्रविधि तथा डिजिटल समाधानसमेत प्रदर्शन गरिने भएको छ । २० भन्दा बढी नेपाली प्रविधि कम्पनीले आफ्ना उत्पादन तथा सेवाको प्रस्तुति दिनेछन् । सहभागीमध्ये केही कम्पनीले कृत्रिम बौद्धिकता, डिजिटल सेवा, डेटा तथा अन्य नवीन प्रविधिमा आधारित समाधानबारे प्रत्यक्ष अनुभवसमेत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा डिजिटल क्षेत्रका निजी तथा सरकारी प्रयासलाई एउटै मञ्चमा ल्याउने तयारी गरिएको छ । सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय निकाय, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र तथा युवाको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा ५०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ ।

यसपटकको कन्क्लेभलाई तीन मुख्य विषयगत सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा डिजिटल गभर्नेन्स र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर अन्तर्गत सार्वजनिक सेवामा डिजिटल प्रविधिको प्रयोग, स्मार्ट सेवा, एकीकृत डिजिटल पहिचान तथा सरकारी प्रणालीको सुधारबारे छलफल हुनेछ ।

दोस्रो सत्रमा डेटा, एआई तथा साइबर सुरक्षा केन्द्रमा रहनेछ । डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा सीमापार डेटा आदानप्रदानसँग सम्बन्धित विषयमा बहस गरिनेछ ।

त्यस्तै, तेस्रो सत्रमा डिजिटल इकोनोमी र इमर्जिङ टेक्नोलोजी अन्तर्गत डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्रको विस्तार तथा त्यसका लागि आवश्यक नीतिगत र लगानी वातावरणबारे छलफल हुनेछ । अन्तिम सत्रमा डिजिटल नेतृत्व र रूपान्तरणका लागि आवश्यक राजनीतिक प्रतिबद्धतामाथि केन्द्रित संवाद हुने आयोजकले जनाएको छ ।

नेपालले डिजिटल रूपान्तरणलाई अघि बढाउने क्रममा विकास गरेको प्रविधि र स्थानीय नवप्रवर्तनलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ । कार्यक्रममा नेपाली प्रविधि कम्पनीले विकास गरेका डिजिटल समाधान प्रस्तुत गरिनुका साथै अन्तर्राष्ट्रिय प्रविधिको अनुभवसमेत आदानप्रदान गरिनेछ ।

डिजिटल नेपाल कन्क्लेभ २०२६ ले सरकार, नीति निर्माता, प्रविधि उद्योग र स्टार्टअपबीच सहकार्य बढाउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप बलियो बनाउने वातावरण तयार गर्ने लक्ष्य राखेको छ । आयोजकका अनुसार सम्मेलन डिजिटल नेपालको आगामी दिशा, नीति र प्रविधिगत सम्भावनाबारे बहस गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *