नाडा अटो शोमा देखियो एमहिरोको लक्जरी ईभी

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा चिनियाँ प्रिमियम तथा लक्जरी अफरोड विद्युतीय सवारी ब्रान्ड एमहिरोले आफ्नो विद्युतीय एसयूभी प्रदर्शनमा राखेको छ । प्रिमियम ईभीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणबीच एमहिरोको उपस्थितिले प्रदर्शनीमा नयाँ ध्यान तानेको छ ।

अफरोड क्षमताका लागि लक्षित एमहिरोको डिजाइनमा आक्रामक तथा मस्कुलर स्वरूप देख्न सकिन्छ । सैन्य सवारीबाट प्रभावित देखिने बाहिरी डिजाइन, बोल्ड ग्रिल र क्रस आकारका एलईडी हेडलाइट यसको प्रमुख विशेषतामध्ये हुन् ।

बाहिरी डिजाइनभन्दा फरक, गाडीको केबिनलाई लक्जरी अनुभूति दिने गरी तयार गरिएको छ । भित्री भागमा नेपा लेदर फिनिसिङ, ठूला डिजिटल डिस्प्ले, ६४ कलरको एम्बियन्ट लाइटिङ र आधुनिक इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छन् ।

एमहिरोको मुख्य विशेषता भने यसको अफरोड क्षमता र विद्युतीय पावरट्रेन हो । कम्पनीका अनुसार गाडीले १ हजार हर्सपावरभन्दा बढी शक्ति उत्पादन गर्न सक्छ । कठिन भूभागमा समेत सञ्चालन गर्न ४-ह्विल ड्राइभ प्रणालीसँगै तीनवटा डिफरेन्सियल लक दिइएको छ ।

गाडीमा रहेको ‘क्र्याब मुभिङ मोड’ ले यसलाई सामान्य रूपमा अगाडि वा पछाडि मात्र नभई तेर्सो तथा डायगोनल दिशामा समेत चलाउन सहयोग गर्छ । यसका साथै करिब ९० सेन्टिमिटरसम्म गहिरो पानी पार गर्न सक्ने क्षमता पनि गाडीमा रहेको बताइएको छ ।

एमहिरोको यस्तो प्रविधि र अफरोड क्षमताले नेपालमा बढिरहेको प्रिमियम तथा लक्जरी विद्युतीय एसयूभीको बजारमा नयाँ विकल्प थपिने संकेत गरेको छ । विशेषगरी उच्च क्षमता र अफरोड फिचर खोज्ने ग्राहकका लागि यो मोडल आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।

यद्यपि, नेपालमा एमहिरोको बिक्री कहिलेदेखि सुरु हुने, कुन भेरियन्ट उपलब्ध हुने तथा यसको मूल्य कति पर्ने भन्ने विषयमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । नाडा अटो शोमा भने गाडीलाई हाल सोकेशका लागि मात्र प्रदर्शनमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *