धुलिखेलमा अपोलो कार्मिक्स एसएलएम अपरेटरको भेटघाट तथा तालिम, ६५ जना सहभागी

काठमाडौं । निर्माण क्षेत्रमा प्रयोग हुने एसएलएम मेसिनको सुरक्षित तथा प्रभावकारी सञ्चालनमा जोड दिँदै अपोलो कार्मिक्सले नेपालमा पहिलोपटक अपरेटर लक्षित भेटघाट तथा तालिम कार्यक्रम आयोजना गरेको छ।

धुलिखेलस्थित सनराइज रिसोर्टमा आयोजित कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका करिब ६५ जना अपरेटर तथा प्राविधिक सहभागी भएका थिए। कार्यक्रम नेपालका लागि अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक डिलर परिना इन्टरनेसनल प्रालि., एकान्तकुना, ललितपुरले आयोजना गरेको हो।

तालिममा एसएलएम मेसिन सञ्चालन गर्ने तरिका, सुरक्षा सावधानी, नियमित मर्मतसम्भार र प्राविधिक पक्षबारे सहभागीलाई जानकारी दिइएको थियो। सहभागीलाई सैद्धान्तिक जानकारीसँगै मेसिन सञ्चालनसम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा अपरेटरहरूले मेसिन प्रयोग गर्दा सामना गर्ने विभिन्न प्राविधिक समस्या र तिनको समाधानबारे छलफल गरेका थिए। देशका विभिन्न स्थानमा काम गरिरहेका अपरेटरबीच प्रत्यक्ष अनुभव आदानप्रदान गर्ने अवसरसमेत कार्यक्रमले दिएको थियो।

कार्यक्रममा परिना इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक आचार्य, निर्देशक रोशन गौतम र रमेश महतो, नायब महाप्रबन्धक असिम ढकाल तथा शिवकुमार उपाध्यायको उपस्थिति थियो। अपोलो इन्फ्राटेक ग्रुपका डिलर डेभलपमेन्ट म्यानेजर कौशल मेहता, सर्भिस एन्ड स्पेयर म्यानेजर विमल पटेल र अपोलो कार्मिक्सका असिस्टेन्ट म्यानेजर इर्फान सेख पनि कार्यक्रममा सहभागी भएका थिए।

अपोलो कार्मिक्स इक्युपमेन्टस् प्रालिले उत्पादन गर्ने एसएलएम मेसिनको स्पेयर पार्ट्स तथा सर्भिसको जिम्मेवारी प्राइम मोटर्स प्रालि., एकान्तकुना, ललितपुरले सम्हाल्दै आएको छ।

परिना इन्टरनेसनलले अपोलो इन्फ्राटेक ग्रुपअन्तर्गतका कार्मिक्स, कंक्रिट ब्याचमिक्स, कंक्रिट पेभर र अपटेकलगायतका उत्पादन बिक्री–वितरण गर्दै आएको छ। यस्तै, कम्पनीले पार्कर ग्रुपका एस्फाल्ट ड्रम मिक्स, पेभर, एस्फाल्ट ब्याचमिक्स, ब्लक मेकिङ मेसिन तथा ह्युमपाइप मेसिन पनि बिक्री गर्दै आएको जनाएको छ। यी उपकरणका लागि मर्मत तथा बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

नेपालमा पहिलोपटक आयोजना गरिएको अपरेटर केन्द्रित यस्तो कार्यक्रमले मेसिनको सञ्चालनमा दक्षता बढाउनुका साथै सुरक्षा र मर्मतसम्भारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने आयोजकको अपेक्षा छ।

सहभागी अपरेटरहरूले समेत यस्ता तालिम तथा भेटघाटलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार नियमित प्राविधिक प्रशिक्षण र अनुभव आदानप्रदानले मेसिनको सञ्चालनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *