पहिलेभन्दा ठूलो र बोल्ड बन्यो हुन्डाई टक्सन, नयाँ पुस्ता सार्वजनिक

काठमाडौं । सडकमा अझ बलियो उपस्थिति देखाउने गरी हुन्डाईले टक्सन एसयूभीको नयाँ पुस्ता सार्वजनिक गरेको छ। नयाँ संस्करणमा कम्पनीले डिजाइन, आकार र केबिनको प्रविधिमा उल्लेख्य परिवर्तन गर्दै टक्सनलाई थप आधुनिक स्वरूप दिएको छ।

नयाँ टक्सनमा हुन्डाईको ‘आर्ट अफ स्टिल’ डिजाइन दर्शन प्रयोग गरिएको छ। अघिल्लो पुस्ताको तुलनामा यसको बडी डिजाइन बढी मस्कुलर देखिन्छ। अगाडिको भागमा गाडीको चौडाइभर फैलिएको एलईडी लाइट बार राखिएको छ भने दुवै छेउमा ठाडा एलईडी स्ट्रिप दिइएका छन्।

डिजाइनमा मात्रै नभई गाडीको आयामसमेत बढाइएको छ। नयाँ टक्सन पुरानो मोडलभन्दा ६० मिलिमिटर लामो, ४० मिलिमिटर फराकिलो र २० मिलिमिटर अग्लो छ। ह्विलबेसमा पनि ३० मिलिमिटर वृद्धि गरिएको छ। यसले गाडीलाई पहिलेभन्दा ठूलो र सडकमा थप प्रभावशाली देखाउने अपेक्षा गरिएको छ।

बाहिरी डिजाइनसँगै यसको केबिनमा पनि हुन्डाईले नयाँपन दिएको छ। नयाँ टक्सनमा टु–स्पोक स्टेयरिङ ह्विल र ड्यासबोर्डको माथिल्लो भागमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ। त्यसैगरी, ठूलो फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले ड्यासबोर्डलाई प्रविधिमैत्री र प्रिमियम स्वरूप दिएको छ।

 

यद्यपि नयाँ टक्सनको मुख्य प्राविधिक पक्ष अझै सार्वजनिक गरिएको छैन। हुन्डाईले यसको इन्जिन, पावरट्रेन, क्षमता तथा मूल्यसम्बन्धी विवरण बिक्री सुरु हुने समय नजिकिँदै गएपछि सार्वजनिक गर्ने जनाएको छ।

नयाँ पुस्ताको टक्सनमार्फत हुन्डाईले लोकप्रिय एसयूभीलाई थप ठूलो आकार, बोल्ड डिजाइन र आधुनिक प्रविधिसहित बजारमा उतार्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *