भीमफेदीमा सडकबाट ५० मिटर तल खस्यो गाडी, एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा भएको गाडी दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान करिब ८ बजे काठमाडौंंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको उपचारका क्रममा काठमाडौंको छाउनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।

लक्ष्मी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो। छाउनी अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे उनको मृत्यु भएको डिएसपी काफ्लेले बताए।

उक्त गाडीमा वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए।

दुर्घटनामा घाइते भएका रजिस्ट्रार तारादत्त बडू र चालक छुनिलाल चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

न्यायाधीश डाँगी, लक्ष्मीका छोरा रितेन्द्र तथा छोरी रितालाई पनि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरूसहित दुर्घटनामा घाइते अन्यको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *