ईभी ब्याट्रीलाई फोहोर होइन, बहुमूल्य स्रोतका रूपमा हेर्नुपर्छ : मक्कार

काठमाडौं । ईभीमा प्रयोग हुने ब्याट्रीलाई फोहोर वा खतरनाक वस्तुका रूपमा मात्र नभई पुनः प्रयोग गर्न सकिने मूल्यवान स्रोतका रूपमा हेर्नुपर्ने लोहम क्लिनटेक प्रालि इन्डियाका बिजनेस पार्टनरशिप असिस्टेन्ट जनरल म्यानेजर जतिन मक्कारले बताएका छन् ।

नाइमा नेपालले आयोजना गरेको ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङसम्बन्धी लर्निङ सेसनमा बोल्दै मक्कारले ईभीको प्रयोग बढेसँगै ब्याट्री व्यवस्थापनलाई अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।


उनका अनुसार नेपाल र भारतजस्ता देशमा आयात हुने ईभी ब्याट्रीमा अलुमिनियम, कपर, लिथियम, निकल र कोबाल्ट जस्ता महत्वपूर्ण तथा बहुमूल्य खनिज हुन्छन् । त्यसैले ब्याट्रीलाई फोहोरका रूपमा हेर्दा यसको संरक्षण र पुनःप्रयोगको सम्भावना गुम्ने उनले बताए ।

‘जबसम्म हामी ब्याट्रीलाई केवल फोहोर वा खतरनाक भनेर सोच्छौँ, तबसम्म यसलाई जसरी पनि पन्छाउने सोच विकास हुन्छ,’ मक्कारले भने, ‘यसलाई उपयोगी र मूल्यवान सामग्रीका रूपमा हेर्न थालेपछि संरक्षण गर्ने दृष्टिकोण बन्छ।’

मक्कारका अनुसार नेपालमा आयात हुने कतिपय ईभीका ब्याट्री प्याक ५० देखि ६० किलोवाटआवर क्षमताका र करिब ४०० किलोसम्म तौलका हुन्छन् । यस्ता ब्याट्रीमा रहेका ३०० किलोभन्दा बढी सामग्री पुनः प्रयोग गर्न सकिने उनको भनाइ छ ।

ब्याट्रीको प्रयोग अवधि सकिएपछि पनि त्यसमा ऊर्जा तथा महत्वपूर्ण सामग्री बाँकी रहने भएकाले यसको आर्थिक मूल्य कायम रहने उनले बताए । ब्याट्रीको प्रभावकारी व्यवस्थापनका लागि पुरानो ब्याट्री फिर्ता गर्ने उपभोक्तालाई उचित मूल्य वा इन्सेन्टिभ दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । यसले संकलन प्रणालीलाई समेत बलियो बनाउने उनले बताए ।

नेपालमा प्रभावकारी विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) नीति अझै स्पष्ट रूपमा कार्यान्वयनमा नआएकाले स्थानीय आवश्यकता र बजारअनुकूल नीतिगत व्यवस्था गर्नुपर्ने मक्कारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *