काठमाडौँ । स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि बढ्दो दुर्व्यवहार र कुटपिटका घटनाको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गरेको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित र भयरहित वातावरणमा सेवा दिन पाउनुपर्ने माग राख्दै स्वास्थ्य क्षेत्रमा हुने हिंसाविरुद्ध ‘शून्य सहनशीलता’को नीति लागू गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. राकेश शाहका अनुसार ‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ’ भन्ने सन्देशसहित स्वास्थ्यकर्मीको सुरक्षाका लागि दबाब सिर्जना गर्न ओपिडी सेवा बन्द गरिएको हो।
यो आन्दोलन नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप गरिएको हो। उक्त घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन्।
यस्तै, घटनापछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको विषयमा थप रणनीति तय गर्न नेपाल चिकित्सक संघले आज दिउँसो २ बजे आफ्नो केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ।