काठमाडौं । लगातारको वर्षासँगै पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
सडकखण्डअन्तर्गत तुइन खोला र सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि सोमबार साँझदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार साँझ सूचना जारी गर्दै अर्को सूचना नआएसम्म नारायणगढ–मुग्लिन सडक हुँदै सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका छन्।
नारायणगढ–मुग्लिन सडक काठमाडौं र पोखरालाई देशका पूर्वी तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख सडक मार्ग हो। पहिरोको उच्च जोखिम रहेको यस सडकखण्डमा वर्षायाममा पटक–पटक यातायात प्रभावित हुँदै आएको छ ।

चितवनमा सोमबार मध्याह्नदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिमसमेत बढेको छ।