रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखुखोलामा आएको आकस्मिक बाढीले मोटरेबल पुल बगाएपछि लाछेवर क्षेत्रको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
सोमबार राति अविरल वर्षापछि आएको बाढीले रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–१ को अन्तिम मानव बस्ती लाछेवर जोड्ने सडक अवरुद्ध बनाएको हो।
गुम्देलका वडाध्यक्ष ङावा तिन्डु शेर्पाका अनुसार स्थानीय बिखे खोलामा आएको बाढीले लिखुखोलाको बहाव थुनेपछि एक्कासि ठूलो बाढी आएको थियो। बाढीले लाछेवरको फेदीस्थित सुन्दा क्षेत्रमा रहेको एउटा होटलसमेत बगाएको छ।
बाढीका कारण दुगड ग्रुपद्वारा सञ्चालित जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा पनि क्षति पुगेको बताइएको छ। हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको वडाध्यक्ष शेर्पाले जानकारी दिए।
स्थानीयका अनुसार बाढीले मोटरेबल पुलसहित तीन वटा पुलमा क्षति पुर्याएको छ। पुल बगेपछि लाछेवर जाने सडक पूर्ण रूपमा बन्द भएको स्थानीय मणिराज सुनुवारले बताए।
सडक सञ्जाल टुटेसँगै लाछेवर क्षेत्रका स्थानीयको आवतजावत प्रभावित भएको छ। दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या देखिन थालेको स्थानीयले बताएका छन्।