नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा आशंक शमशेर जबरा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभराज श्रेष्ठ र क्षितिज ध्वज थापा चुनिएको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ नेपालको अटोमोबाइल क्षेत्रमा क्रियाशील औद्योगिक घराना लक्ष्मी ग्रुपका निर्देशक समेत हुन् । लक्ष्मी ग्रुप अन्तर्गत अटोमोबाइल सम्बद्ध विभिन्न व्यवसाय रहेको छ । नेपालमा हुन्डाई र एसएमएल इसुजु तथा बीएमडब्लु लगायतका सवारी साधन यही ग्रुप अन्तर्गत बिक्री वितरण भइरहेका छन् । त्यसैगरी कन्फेक्सनरी, प्लाष्टिक, डेरी, इलेक्ट्रोनिक्स र स्टिल लगायतको व्यवसायमा समेत यो ग्रुप क्रियाशील छ ।

नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताए। उहाँले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको परराष्ट्रमन्त्री शिशिर खनालले उल्लेख गरे ।

कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार–निजी क्षेत्र–युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत छलफल गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *