काठमाडौं। रोयल इनफिल्ड ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिका नेपालगञ्जस्थित आधिकारिक डिलर वेस्टएण्ड प्रालिले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र राइडिङ समुदायलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष राइडले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै सहभागीलाई फरक अनुभव दिलाएको थियो। रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ करिब २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।
राइडपछि सहभागीहरूले परम्परागत धान रोपाइँमा भाग लिए। साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक प्रस्तुति र गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारको स्वाद पनि लिएका थिए।
यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग आकर्षक रूपमा जोड्दै राइडरहरूलाई मनोरञ्जन र सांस्कृतिक अनुभव एकसाथ प्रदान गरेको थियो।
कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए। उनको नेतृत्वमा सम्पूर्ण राइड सुरक्षित, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
‘प्योर मोटरसाइक्लिङ’को अवधारणालाई अघि बढाउँदै रोयल इनफिल्डले नेपालभर राइडिङ संस्कृति, राइडर समुदायबीचको सम्बन्ध, साहसिक यात्रा र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको छ। कम्पनीले मोटरसाइकल यात्रालाई केवल यात्रा नभई अनुभव, संस्कृति र समुदायसँग जोडिएको अभियानका रूपमा अघि बढाइरहेको जनाएको छ।
अल्फा अटोमोटिभले आगामी दिनमा पनि सुरक्षित र जिम्मेवार राइडिङलाई प्रोत्साहन गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई उजागर गर्ने यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।