हुन्डाई मोटर ग्रुपले दक्षिण कोरियामा एआई डेटा सेन्टर र रोबोट उत्पादन प्लान्ट बनाउन करिब ९ ट्रिलियन वन (झण्डै ६.२६ अर्ब डलर) लगानी गर्ने सम्झौता गरेको छ।
दक्षिण कोरियाको पश्चिमी तटीय क्षेत्रमा बन्ने यो परियोजनामा एआई डेटा सेन्टर, रोबोट कारखाना र अन्य पूर्वाधार समावेश छन्। कम्पनीले करिब ५.८ ट्रिलियन वन खर्चेर ठूलो एआई डेटा सेन्टर निर्माण गर्नेछ, जहाँ ५० हजार जीपीयू जडान गरिनेछ।
रोबोट उत्पादनका लागि ४०० बिलियन वन छुट्याइएको छ र यहाँ मानवजस्तै ह्युमेनोइड रोबोट उत्पादन गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, हाइड्रोजन उत्पादनमा १ ट्रिलियन वन र सौर्य ऊर्जामा १.३ ट्रिलियन वन लगानी गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यी सबै काम सरकारसँगको सहकार्यमा गरिनेछन्।
यो परियोजना ‘सेमानगुम’ क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने सरकारी योजनासँग जोडिएको छ।
यो लगानी सन् २०२६ देखि सुरु हुने ५ वर्षे १२५ ट्रिलियन वन आन्तरिक लगानी योजनाको पहिलो ठूलो कदम हो। कम्पनीले अब केवल गाडी निर्माता मात्र नभई एआई र रोबोटिक्स क्षेत्रमा पनि विश्वस्तरको नेतृत्व लिने लक्ष्य राखेको छ।
विशेषगरी बोस्टन डाइनामिक्ससँगको सहकार्यमा मानवाकार रोबोट ‘एटलास’को व्यावसायिक उत्पादन बढाइनेछ।
हुन्डाई मोटर ग्रुपअन्तर्गत हुन्डाई र किया ब्रान्डका गाडी उत्पादन हुन्छन्। कम्पनी विश्वको पाँचौँ ठूलो कार बिक्रेता हो र पछिल्ला वर्षमा विद्युतीय गाडी तथा हाइड्रोजन फ्युलसेल प्रविधिमा जोड दिइरहेको छ।