राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ।
फलेवास नगरपालिका–६ देवीस्थान र वडा–१० कुर्घाबीच रहेको यो पुल निर्माण व्यवसायीको ढिलासुस्ती र सुरुवाती गलत डिजाइनका कारण ढिला भएको हो। २०७४ असार २८ गते सम्झौता भई २०७४ पुस १९ गतेबाट काम सुरु गरिएको पुल दुई वर्षमै सक्ने लक्ष्य थियो।
२०७६ असारभित्र सम्पन्न हुनुपर्ने योजना भए पनि डिजाइन सच्याउने प्रक्रिया, काम रोकिनु र विभिन्न प्राविधिक समस्याका कारण पुल ढिलाइ भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ।
५ करोड ८९ लाख ८९ हजार २७७ रुपैयाँ लागतमा निर्माण भएको २५ मिटर लामो र ११ मिटर चौडा पुलको जिम्मा नयाँबाटो गौचन जेभीले लिएको थियो। पुल सञ्चालनमा आएपछि कालीगण्डकी लोकमार्गमा सिधा यातायात सुरु भएको छ।
यसले दक्षिण पर्वतका बासिन्दालाई कुश्माबजार आवतजावत सहज बनाएको छ भने बुटवल, भैरहवा, पाल्पा, गुल्मी हुँदै मुस्ताङ, पर्वत, बागलुङ र म्याग्दी जाने सवारीलाई पनि सुविधा पुगेको छ। पहिले करिब एक घण्टा घुमेर जानुपर्ने दूरी अब पाँच मिनेटमै पार गर्न सकिने भएको छ।
करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म ट्र्याक खुलिसकेको छ। सेतीवेणीदेखि लमाएखोलासम्म कालोपत्रे पनि भइसकेको छ।
पुल नबन्दा सिधा यातायात सम्भव थिएन। गत साता सबै काम पूरा भएसँगै नियमित सवारी सञ्चालन सुरु भएको साइड इञ्जिनियर पिपुल गौतमले जानकारी दिएका छन्।
सुरुमा बनाइएको डिजाइनप्रति स्थानीयले विरोध गरेका थिए। पछि नयाँ डिजाइन बनाएर पुरानै स्थान संरक्षण गर्दै पुनः निर्माण अघि बढाइएको थियो। गत वर्ष बाढीले स्ल्याब ढलान बगाएपछि काम अझ ढिला भएको बताइएको छ।
पुल निर्माणका लागि सम्झौताको म्याद छैटौँ पटकसम्म थपिएको थियो। २०७६ जेठमै हस्तान्तरण गर्ने लक्ष्य भए पनि बीचमै काम रोकिनु र पुनः २०८० मंसिरदेखि काम सुरु हुनुले समय लम्बिएको हो।
यसैसँगै सुरु भएको मोदीखोलाको पुल भने दुई वर्षअघि नै सम्पन्न भइसकेको छ। फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रे भइरहेको छ र यो पूरा भएपछि पर्वत जिल्लामा ५५ किलोमिटर सडक सञ्जाल पूर्ण हुने जनाइएको छ।