जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै विमानस्थल क्षेत्रभित्र प्रदर्शन, जुलुस, भेला, र नाराबाजी जस्ता गतिविधि नगर्न सबैलाई सूचना दिएका छन्।
प्रशासनका अनुसार विमानस्थल क्षेत्रलाई अति संवेदनशील मानिन्छ। शान्ति–सुरक्षा र आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।
विज्ञप्तिमा भनिएअनुसार, फागुन १ गते विमानस्थल क्षेत्र आसपासमा केही समूह तथा राजनीतिक दलहरूले प्रदर्शन, र्याली वा भेलाजम्मा गर्ने सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएको पाइएको छ।
तर, त्यसबारे काठमाडौं प्रशासनमा कसैले जानकारी गराएको वा पूर्वस्वीकृति लिएको छैन।
प्रशासनले निषेधित क्षेत्रमा कानूनविपरीत गतिविधि गर्ने जो–कसैलाई कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
Views: 301