सेनाले बनाउँदै दुर्गम सडक

भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले संखुवासभाको च्याम्ताङ–घोङघप्पा सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ।

विस्फोट, डोजर र भारी मेसिनरीको प्रयोगमार्फत खोलिँदै गएको यो सडकले दुर्गम क्षेत्रका बासिन्दालाई आवागमन मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र समग्र जीवनस्तर सुधारतर्फ जोड्ने महत्त्वपूर्ण आधार तयार गरिरहेको छ।

कोशी करिडोरअन्तर्गत पर्ने खाँदबारी–किमाथांका सडकको च्याम्ताङ–घोङघप्पा खण्ड अत्यन्तै जोखिमपूर्ण भू–भागमा रहेको छ।

कडा चट्टान, साँघुरो भिर र प्राकृतिक चुनौतीबीच नेपाली सेनाले ब्लास्टिङ र मेसिनरी प्रयोग गर्दै ट्र्याक खोल्ने र स्तरोन्नतिको काम निरन्तर गरिरहेको जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार १०.५१ किलोमिटर लामो र ९ मिटर चौडाइको यस सडकखण्ड निर्माणको जिम्मेवारी मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ भदौ २२ गते सेनालाई दिइएको हो।

प्रारम्भिक लागत अनुमान ६२ करोड ९० लाख रुपैयाँ रहेको यो आयोजना आर्थिक वर्ष २०७७/७८ बाट सुरु गरिएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ ट्र्याक खोल्ने काम पूरा भइसकेको छ भने चालु आव २०८२/८३ मा ४.३१ किलोमिटर सडक स्तरोन्नति गरी मापदण्ड पूरा गरेर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार यो सडक उत्तर–दक्षिण राजमार्गका रूपमा विकास हुँदै चीन र भारतसँग भौतिक सम्पर्क जोड्ने रणनीतिक मार्ग हो।

सडक सञ्चालनमा आएपछि सीमा सुरक्षा, आपत्कालीन सेवा, विपद् व्यवस्थापन र राहत सामग्री ढुवानीमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सडक निर्माणमा स्थानीय जनशक्तिको सहभागिता सुनिश्चित गरिएको छ, जसले रोजगारी सिर्जना गर्नुका साथै सीप र अनुभव विकासमा पनि योगदान दिएको छ।

स्थानीयवासीका अनुसार सेनाको प्राविधिक क्षमता र अनुभव नहुँदो हो त यति कठिन भू–भागमा सडक निर्माण असम्भवजस्तै थियो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले भू–भाग अत्यन्त जटिल भएकाले कतिपय स्थानमा डबल ब्लास्टिङ गर्नुपरेको बताइन्।

उनका अनुसार सडक पूरा भएपछि चिचिला, मकालु र भोटखोला गाउँपालिकाका बासिन्दालाई आवागमन, व्यापार र सेवा–सुविधामा ठूलो सहजता मिल्नेछ।

निर्माण सम्पन्न भएपछि यो सडकले संखुवासभाको दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग मजबुत रूपमा जोड्दै विकास, सुरक्षा र आर्थिक गतिविधिको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *