खजुरामा चार लेन पुल

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माण भइरहेको चार लेनको पुल अन्तिम चरणमा पुगेको छ।

निर्धारित समयभन्दा अगावै पुल सम्पन्न हुने देखिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ।

योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार २०८३ वैशाख १८ गतेसम्मको म्याद भए पनि निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले पुल समयअघि नै सञ्चालनमा आउने सम्भावना छ।

यसले खजुरावासीले लामो समयदेखि भोग्दै आएको आवागमनको समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ।

निर्माणको गुणस्तर कायम राख्न निर्देशनालयले नियमित रूपमा कार्यस्थलमा पुगेर अनुगमन गरिरहेको छ।

बाँके र बर्दियालाई जोड्ने महत्वपूर्ण मार्ग भएकाले यो पुलले आवागमनलाई अझ सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

२२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको यो पुलसँगै दुवैतर्फ २००–२०० मिटर एप्रोच सडक पनि निर्माण गरिँदैछ।

पुल निर्माणका लागि नारायणम निर्माण सेवासँग भ्याटसहित ८ करोड ९६ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले स्थानीयको निरन्तर पहलबाट परियोजना अघि बढेको बताउँदै निर्माणको तीव्रताप्रति सन्तोष व्यक्त गरे।

उनका अनुसार वर्षायाममा नालाको पानी सडकमा बग्दा हुने यातायात अवरोध अब अन्त्य हुने छ।

पहिले साँघुरो र जीर्ण पुलका कारण सानो वर्षामा समेत सडक अवरुद्ध हुने समस्या रहेकामा नयाँ चार लेन पुल निर्माणपछि त्यो समस्या इतिहास बन्ने स्थानीयको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *