बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता

बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्सबीच बन्दीपुरस्थित होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ।

यससँगै बन्दीपुरको होटेल लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालनमा आउने भएको छ।

सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय प्रचार–प्रसार, सेवा गुणस्तर नियन्त्रण, कर्मचारी विकास र वैश्विक बुकिङ प्रणालीमा पहुँच लेमन ट्री होटल्सले सम्हाल्नेछ।

यो सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

विश्वका विभिन्न देशमा ठूलो सञ्जाल रहेको लेमन ट्री होटल्सको अनुभव र बजार पहुँचले बन्दीपुरको पर्यटन गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यस साझेदारीले होटेलको अकुपेन्सी दर बढाउने, विदेशी मुद्रा आम्दानी वृद्धि गर्ने र दीर्घकालीन रूपमा कम्पनीको ब्रान्ड मूल्य मजबुत बनाउनेछ।

साथै लगानीकर्ताको विश्वास बढ्नुका साथै स्थानीय रोजगारी सिर्जना र सेवा गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ।

सम्झौतापछि बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको नाम र अन्तर्राष्ट्रिय मापदण्डअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *