काठमाडौंको बीचबाट बग्ने टुकुचा खोला सफा गरी वाग्मतीमा मिसाउने कामका लागि दैनिक डेढ करोड लिटर पानी प्रशोधन गर्न सक्ने ठूलो केन्द्र निर्माण भइरहेको छ।
यो केन्द्र त्रिपुरेश्वर–कुपण्डोल दोभान क्षेत्रको २.५३ हेक्टर जग्गामा बनाइँदैछ।
एडीबीको वाग्मती नदी बेसिन परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा बन्ने यस आयोजना लागत ३ अर्ब १८ करोड रुपैयाँ छ। निर्माण आउँदो मंसिरभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
टुकुचाबाट पानी ल्याएर प्रशोधन गरेर वाग्मतीमा मिसाइनेछ। साथै, प्रशोधन केन्द्रबाट ८०० किलोवाट विद्युत् पनि उत्पादन हुने जनाएको छ।
यस परियोजनामा त्रिपुरेश्वरतर्फका संरचना तीव्र गतिमा बन्दैछन्, तर ललितपुरतर्फ स्थानीय अवरोधका कारण काम रोकिएको छ।
ललितपुरमा मुख्य रूपमा विद्युत् उत्पादनका संरचना मात्रै रहनेछन्, जबकि ढल प्रशोधनको मुख्य संरचना त्रिपुरेश्वरमै बनाइँदैछ।
आज मन्त्री कुलमान घिसिङले निर्माण स्थल निरीक्षण गर्दै कामको प्रगति, समस्या र समाधानबारे परियोजना टोली तथा निर्माण व्यवसायीसँग छलफल गरे।
निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फको काम समयमै सकिने आश्वासन दिएका छन्।