काठमाडौँ । तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा रोकथामको काम अघि बढाउन नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने भएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथामका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
तुइनखोला क्षेत्रमा पटक–पटक पहिरो खस्ने समस्या देखिएपछि यसको दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधिबाट काम अघि बढाउन लागेको हो ।
कार्यालयका अनुसार पहिरो प्रभावित क्षेत्रको जोखिम कम गर्न भिरमा रहेका ठूला ढुंगा हटाउनुका साथै भिरको भूबनोट व्यवस्थापन गरिनेछ । त्यसका लागि किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ ।
त्यस्तै, भिरबाट रसाएर आउने पानीको निकास व्यवस्थापन गर्न ‘होरिजोन्टल ड्रेन’ प्रविधि अपनाइनेछ । पहिरो प्रभावित क्षेत्रमा माटोको स्थिरता कायम राख्न बायोइन्जिनियरिङ विधिसमेत प्रयोग गरिने कार्यालयले जनाएको छ ।
तुइनखोला क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले सडकलाई सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन रोकथामका उपाय अघि बढाइएको हो । निर्माण तथा रोकथामको काम अवधिभर दैनिक पाँच घण्टा सडक बन्द हुँदा यस मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालक प्रभावित हुनेछन् ।