धुलिखेल–खावा सडक काम तीव्र

अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य फेरि तीव्र गतिमा अघि बढिरहेको छ।

पुराना ठेकेदारले काम समयमा नसकाएपछि ठेक्का रद्द गरिएकाले केही समय रोकिएको विस्तारकार्य गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनः सुरु गरिएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सि-एन ए–वान काली जेभीसँग १४ महिनाभित्र काम सक्ने गरी ३१ करोड ५६ लाख रुपैयाँ (भ्याटबाहेक) मा नयाँ ठेक्का सम्झौता भएको छ।

पहिलो चरणमा फराकिलो भागमा कालोपत्रे चैतभित्रै सक्ने र बाँकी काम चरणबद्ध रूपमा समयमै पूरा गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

अघिल्लो ठेकेदार गौरी–पार्वती निर्माण सेवाले समयमै काम नगरेपछि कार्यालयले ११ महिना ढिलो भइसकेपछि गत फागुनमा ठेक्का रद्द गरेको थियो।

२०५ देशेजते काम हुनुपर्ने उक्त सडकमा तीन वर्षदेखि यात्रुहरू असहज यात्रा गर्न बाध्य भइरहेका छन्।

धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म केही कटिङ तथा नाली–ड्रेनेजका काम भए पनि खावा जानेतर्फ एक किलोमिटर भागमा अझै कटिङ बाँकी छ।

बारम्बारको बर्खाले बनाइएका संरचना बगाएर सडक खण्डहर बनेको थियो।

यो सडक चीनको तातोपानी नाका, दोलखा, रामेछाप जस्ता जिल्लातर्फ जाने मुख्य मार्ग पनि भएकोले समयमै निर्माण नहुँदा धुलो, हिलो, जाम तथा दुर्घटनाको जोखिम बढेको छ, जसमा धेरै यात्रु घाइते पनि भइसकेका छन्।

नयाँ योजनाअनुसार १२ मिटर चौडा सडकमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० से.मि. बाक्लो सिमेन्ट मिसिएको बेस राखी, त्यसपछि दुई तहको कालोपत्रे (डिबिएम र आस्फाल्ट) गरेर सडकलाई बलियो बनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *