जनकपुर–ढल्केबरमा तीन आकाशे पुल

मधेस–प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा नयाँ आकाशे पुल बनाउन थालिएको छ।

पैदलयात्रुको ठूलो भीड, सवारी चाप, ट्राफिक अव्यवस्था र बढ्दो दुर्घटनालाई कम गर्न यो परियोजना सुरु गरिएको हो।

सडक डिभिजनका अनुसार तीनवटै पुल अत्यन्त व्यस्त र जोखिमपूर्ण ठाउँमा करिब १० करोड ५० लाख रूपैयाँ लागतमा निर्माण हुँदैछन्।

लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारस्थित महिला विकास चोक र सखुवा चोकमा पिल्लर तथा आधारभूत संरचना निर्माण एक महिनादेखि चलिरहेको छ।

लक्ष्मीनियाँ बजारमा ३ करोड ४२ लाख, महेन्द्रनगर बजारको महिला विकास चोकमा ३ करोड ३५ लाख र सखुवा चोकमा ३ करोड ४५ लाख लागतमा पुल निर्माण भइरहेका छन्। सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुनेछन्।

ट्राफिक प्रहरीका अनुसार जनकपुर–ढल्केबर सडकखण्डमा दैनिक हजारौँ पैदलयात्रु तथा सवारीसाधन हिँडचल हुने भएकाले दुर्घटनाको जोखिम धेरै थियो।

पुल बनेपछि ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटना कम हुने र सडकको सौन्दर्य पनि बढ्ने स्थानीयको धारणा छ।

सडक डिभिजनले चालु आर्थिक वर्षमै सबै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *