दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरिएको पेट्रोलियम अन्वेषणमा ठूलो मात्रामा प्राकृतिक ग्यास भेटिएको छ ।
खानी तथा भूगर्भ विभाग र चीनको जियोलोजिकल सर्भे कम्पनीले संयुक्त रूपमा गरेको ड्रिलिङबाट करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण पुष्टि भएको हो ।
यो पहिलो कुवाबाट प्राप्त नतिजा मात्र हो । बाँकी तीन कुवाको अनुमान अनुसार जलजले क्षेत्रमा करिब ४३० अर्ब घनमिटर ग्यास हुने देखिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको आवश्यकता पूरा गर्न सक्ने सम्भावना छ ।
हाल नमुनाको विस्तृत प्रतिवेदन चीनबाट तयारी हुँदैछ र सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन आउनेछ ।
प्रतिवेदनपछि उत्खनन र व्यावसायिक उत्पादनबारे थप निर्णय गरिनेछ ।
नेपाल सरकार र चीनबीच सन् २०१९ मा भएको सम्झौतापछि सुरु गरिएको यो परियोजना हालसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक अन्वेषण मानिन्छ ।
यसबाट स्थानीयलाई रोजगारीको अवसर बढ्ने र मुलुकको ऊर्जा स्वावलम्बनमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।