८५० किलोमिटर रेन्ज दिने बीवाइडीको नयाँ टाङ सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाइडीले आफ्नो लोकप्रिय एसयूभी टाङको तेस्रो पुस्ताको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी नोभेम्बर २४ मा पाँच सिट क्षमताको पूर्ण विद्युतीय टाङ एसयूभी बजारमा ल्याउन लागेको हो। नयाँ मोडलको मुख्य विशेषता एकपटकको फुल चार्जमा ८५० किलोमिटरसम्म यात्रा गर्न सक्ने रेन्ज रहेको छ।

बीवाइडीको डाइनास्टी सिरिजअन्तर्गत उत्पादन हुने नयाँ टाङ तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीले चीनमा नोभेम्बर १३ देखि नै यसको प्रि–सेल सुरु गरिसकेको छ। प्रि–सेलमा यसको मूल्य क्रमशः २ लाख २५ हजार, २ लाख ४० हजार र २ लाख ६० हजार युआन निर्धारण गरिएको छ।

नयाँ टाङमा दुईवटा सिंगल मोटर रियर ह्वील ड्राइभ र एउटा डुअल मोटर अल ह्वील ड्राइभ विकल्प रहनेछ। आकारका हिसाबले पनि यो ठूलो एसयूभी हो। यसको लम्बाइ ५ हजार ४५ एमएम, चौडाइ १ हजार ९८० एमएम र ह्वीलबेस २ हजार ९५० एमएम रहेको छ। पछाडिको सिटलाई १३० डिग्रीसम्म ढल्काउन सकिने सुविधा पनि यसमा दिइएको छ।

रियर ह्वील ड्राइभका दुवै भेरियन्टमा ३०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यी मोडलमा प्रयोग गरिएको ब्याट्री पूर्ण चार्ज गर्दा ८५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। त्यस्तै, अल ह्वील ड्राइभ संस्करणमा ५१५ किलोवाट क्षमताको शक्तिशाली मोटर रहनेछ। यस भेरियन्टले एकपटकको चार्जमा ७७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

नयाँ टाङमा बीवाइडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्रीसँगै फ्ल्यास चार्जिङ प्रविधि प्रयोग गरिएको छ। यस प्रविधिले विद्युतीय सवारीसाधनको चार्जिङ समय उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार सामान्य तापक्रममा ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न करिब पाँच मिनेट मात्रै लाग्नेछ। त्यस्तै, ९७ प्रतिशतसम्म चार्ज गर्न नौ मिनेट समय पर्याप्त हुने दाबी गरिएको छ।

लामो रेन्ज, उच्च क्षमताको मोटर र छोटो समयमै चार्ज गर्न सकिने प्रविधिका कारण नयाँ टाङ बीवाइडीको विद्युतीय एसयूभी बजारमा महत्त्वपूर्ण उत्पादनका रूपमा आउने देखिएको छ। विशेषगरी लामो दूरीको यात्राका लागि विद्युतीय सवारीसाधन रोज्ने ग्राहकलाई लक्षित गरी कम्पनीले यसलाई बजारमा उतार्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *