लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई मोटर्सको सन् २००९ को फेब्रुअरीदेखि आधिकारिक बिक्रेता हो ।
हाल हुन्डाइले EON, i10, Grand i10, Xcent, Elite i20, i20 Active, 4S Verna, Creta, Elantra, Veloster, Tucson, Santa Fe र इभीमा Creta Ev, Kona, IONIQ-5 छ मोडलहरू बजारमा ल्याइसकेको छ ।
१२ वटा थ्रिएस सेन्टरले बिक्री, सेवा र स्पेयर पाट्र्समा ध्यान केन्द्रित गर्दै हुन्डाई मोटरको विभिन्न स्थानमा आफ्नो उपस्थिति बढाएको छ।
अटोमोबाइलको बढ्दो बजारलाई कम्पनीले कस्तो नीतिमा अघि बढाइरहेको छ भन्ने सम्बन्धमा कम्पनीका सेल्स एन्ड आफ्टर सेल्स सर्भिस अपरेसनका महाप्रबन्धक दीपक थपलियासँग अन्नपूर्णकर्मी सुनिता कार्कीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
नेपालमा हुन्डाईसँगै सवारीसाधन बजारलाई तपाईं कसरी हेर्नुहुन्छ ? पछिल्लो वर्षमा उपभोक्ता प्राथमिकताहरूमा के–के प्रवृत्तिहरू देख्नु भएको छ ?
नेपालको अटो बजार अहिलेको अवस्थामा केही फरक भएको छ । उपभोक्ताको हकमा र वितरकको हकमा पनि अवस्था फेरिएको छ ।
उपभोक्ताको हकमा पहिला ब्रान्डलाई एकदम नै महत्त्वव दिइन्थ्यो । ब्रान्ड भनेको एउटा वाचा (प्रमिस) हो जस्तो लाग्छ मलाई, किनभने हरेक ब्रान्डको कमिटमेन्ट हुन्छ ।
इन्टरनेटको पहुँचले कहाँ के र कस्तो मोडलका गाडीहरू आएका छन् भन्ने सबै सूचना थाहा हुन्छ ।
अझ अहिले एआईका कारणले कस्तो सूचना चाहिएको छ त्योअनुसार नै तपाईंको हातहातमा सूचना आइपुग्छ ।
पहिलाको जस्तो ब्रान्ड फोकस भएरभन्दा पनि प्रयोगकर्ताको रूपमा उपभोक्ताहरू आउन थाल्नु भएको छ ।
यसले मार्केटको डाइनामिकलाई परिवर्तन गरेको छ, उपभोक्ता र वितरकले हेर्ने दृष्टिकोण परिवर्तन गरिदिएको छ ।
यस कारण, वितरकले पनि उपभोक्तालाई प्रयोग गर्न आकर्षित गर्ने गरी प्रोडक्ट (वस्तु) डिजाइन गर्न थालेका छन् ।
अहिले ब्रान्डभन्दा पनि उपभोक्तालाई कसरी आकर्षित गर्न सकिन्छ, कस्तो फिचरको बढी माग भइरहेको छ भन्ने हेर्नु परेको छ ।
पहिला गाडी निर्माता कम्पनीले ब्रान्ड भ्यालुलाई केन्द्रमा राखेर गाडी डिजाइन गरी बजारमा पठाउथ्यो भने अहिले पहिला ग्राहकहरूको मागलाई बुझेर अनि गाडीको डिजाइन हुन थालेको छ ।
अहिले निर्माता कम्पनी वा वितरकले खाली गाडीबाट नराम्रो प्रतिक्रिया नआओस् भन्ने उद्देश्यलाई मात्रै सम्बोधन गर्न थालेका छन् ।
उपभोक्ताको प्रतिक्रिया नआउने गरी प्रोडक्ट ल्याउनु नै अहिलेका लागि वितरकको चुनौती बनेको छ ।
यति हुँदाहुँदै पनि हुन्डाइले भने ब्रान्ड भ्यालुमा काम गर्दै कुनै पनि प्रोडक्ट आउनुपूर्व तयारीको काम भने गर्ने गर्छ र प्रोडक्ट बिक्रीपछिको आफ्टर सेल सर्भिसमा पनि सधैं नै सचेत छ ।
हुन्डाईले विभिन्न मोडेलहरूको गाडी ल्याएको छ । नेपाली बजारमा विभिन्न भेरिएन्टहरूको प्रतिक्रिया कस्तो छ ? कुन मोडेलहरू सबैभन्दा सफल भएका छन् र तपाईंको अनुसार तिनको कारण के हो ?
हुन्डाइको मुख्य उद्देश्य भनेको उपभोक्तासँग फरएभर पार्टनरसिपलाई लिने गरेका छौं । सवारीसाधन किन्न सक्ने क्षमताका उपभोक्तामा पनि गाडी किन्ने सुरुवाती चरणकादेखि माथिल्लो लेबलका महँगा गाडी किन्नेसम्मका छन् ।
हरेक स्तरका उपभोक्ताले चढ्न सक्ने साधन हुन्डाईले ल्याएको छ र यो विकल्प होस् भन्ने हुन्डाईले समग्रमा भिजन राखेको छ ।
हामीसँग इन्ट्री लेबलदेखि लक्जरियस लेबलसम्मका गाडी छन् । अर्को भनेको उपभोक्ताको लेबल बढ्दै जाँदा इन्ट्री लेबलको त्योभन्दा माथिको गाडी किन्ने सोच्न सक्छ ।
त्यही भएर हुन्डाईले सबै किसिमका गाडीहरू ल्याएको छ । हुन्डाईसँग चारपाङ्ग्रे सवारीसाधनमा आइस (पेट्रोलियम पदार्थबाट चल्ने) र विद्युतीय (ईभी) गरी दुवै प्रकारका गाडी उपलब्ध छन् ।
उपभोक्ताले आफूलाई सहज हुने गाडी छान्न सक्ने गरी विकल्प हुन्डाईले प्रस्तुत गरेको छ ।
नेपालमा हुन्डाईका गाडी जुनै भेरियन्ट आएका छन्, ती सबैलाई नै उपभोक्ताले रुचाएका छन् । स्यान्ट्रो, आएको बेलामा स्यान्ट्रो नै प्रख्यात, आइटेन आएको बेला आइटेन नै प्रख्यात भयो ।
पछिल्लो ३–४ वर्षयता क्रेटा आफैंमा ब्रान्ड बनेको छ । अहिलेसम्म १० हजारभन्दा बढी क्रेटा नेपालमा बेचिसकेका छौं ।
फेरि पछिल्लो प्रवृत्ति विद्युतीय गाडी (ईभी) मा बढेको देखिन्छ । ईभी भने कुनै लेबल नै छुट्ट्याउन सक्ने अवस्था छैन ।
तर, हामीसँग ईभीको पनि वर्गीकरण छ । केही समयअघि प्रिमियम क्लासको आइओनिक–५ गाडी सार्वजनिक गरेका थियौं ।
त्यसमा गाडीको संख्याभन्दा पनि बुकिङ बढी थियो । ईभीमा नै ह्याचब्यागमा कोना आयो, जुन प्रिमियम लेबलको थियो ।
त्यसलाई पनि रुचाइएको थियो । हुन्डाईले जुन मोडल ल्याए पनि एउटा उपभोक्ताको समूहलाई सोचेर ल्याउने भएकोले सबै नै पपुलर हुने गरेका छन् ।
विश्वभरि इलेक्ट्रिक सवारीसाधनतर्फको परिवर्तनसँगै, लक्ष्मी कन्टिनेन्टलले पनि कम्पनीलाई ईभीमा कसरी ढाल्दैछ ?
हामीसँग नयाँ ईभी क्रेटा आउँदै छ । करिब डेढ महिनामा आउँदैछ । त्योबाहेक हामीसँग कोना र आइओनिक–५ छँदैछ ।
नयाँ ईभी क्रेटा मास मार्केटले किन्न सक्ने किसिमको छ । यसको ग्राउन्ड क्लेरियसन्स २०० एमएम छ भने नर्मल अफरोडिङका लागि ब्रेकओभर एंगल १७.५ डिग्रीभन्दा बढी छ ।
यस्तै गाडीमा फुल साइजको फ्लाट टायर छ, गाडी आफैंले इनर्जी क्यापासिटी इनटेक गर्न सक्छ, भनेको ११ किलोवाट गर्न सक्छ । यसको मतलब घरमा नै चार घण्टामा चार्ज हुन सक्छ ।
यसका लागि घरमा आवश्यक वायरिङ सिस्टम भने जडान भएको हुनुपर्छ । यसका साथै यो गाडीमा धेरै युनिक फिचर छ । ईभीका लागि हामीले सन् २०१८ बाट नै तयारी गरिरहेका छौं ।
ईभीमा हाम्रो कुल ७५ प्रतिशत प्राविधिज्ञहरू प्रमाणित हुनुहुन्छ । अहिले प्रत्येक महिना करिब १५ सय गाडी सर्भिसका लागि आउने गरेका छन् ।
हामीसँग १ सय ५० प्राविधिज्ञ हुनुहुन्छ । सर्भिस एडभाइजर हुनुहुन्छ ।
योसँगै सन् २०१९ बाट नै एसी चार्जिङ स्टेसन सुरु गरेका थियौं । अब हामी हाइवो ट्राभलमा फोकस गर्दै डीसी चार्जिङमा परिणत गरिरहेका छौं ।
पाँच वटा हामीले चार्ज सप राखेका छौं, जहाँ चार्जिङ स्टेसनसँगै वर्कसपको काम पनि हुन्छ । यो अबको एक महिनाभित्र सञ्चालनमा आउँछ ।
सन् २०२५ भित्रमा २५ वटा डीसी स्टेसन ल्याउने पनि तयारी गरिरहेका छौं । अहिलेसम्म एसी स्टेसन करिब ४५ छ ।
गाडीको स्पेयर्स पार्ट पनि आवश्यक हुन्छ । ईभी आफैंमा महँगो भएकोले ईभीको स्पेयर्स पार्ट एकदम नै महँगो छ ।
क्रेटा ईभीमा धेरैजसो आइसको नै लाग्ने भएकोले त्यो नै राखेका छौं । त्यसले यसको पार्टपुर्जा अरू ईभीको भन्दा सस्तो छ ।
अर्को भनेको ब्याट्री व्यवस्थापनका लागि पनि हामीले थर्ड पार्टीसँगै सम्झौता गरेका छौं । भारतीय कम्पनी अटेरोले यहाँबाट ब्याट्री ट्रकमा हालेर लान्छ र रिसाइकलन गरेर फरक कम्पोनेन्टहरूलाई सर्टिङ गर्छ ।
यहाँ दोस्रो प्रयोग गर्न मिल्ने वस्तुबाट उठ्ने रकमबाट सम्बन्धित उपभोक्तालाई कसरी लाभ दिन सकिन्छ भन्नेमा काम भइरहेको छ ।
नेपाली बजारमा ईभी प्रबद्र्धन लागि के–के चुनौतीहरू छन् ?
एउटा पक्षमा संसार नै ईभीमा गएको छ भन्दै गर्दा ईभीमा आकर्षण कसरी बढिरहेको छ भन्ने पनि बुझ्न जरुरी छ ।
अहिले इन्टरनेट र एआईले हामी सबैको मोबाइल वा ल्यापटपको फिडमा रुचाइका कुराहरूलाई बढीभन्दा बढी देखाउने गर्छ ।
यसले नै संसारमा ईभीमा के भइरहेको छ र कस्तो विशेषता छ भन्ने हरक्षणको अपडेटले उपभोक्तालाई त्यसतर्फ नै बढी नै आकर्षित गरिरहेको छ ।
किनभने फिड भनेको म्यानुपुलेट गर्न सकिन्छ । ईभी भनेको दीर्घकालीन सवारीको उपाय हो भन्ने सूचनाले पनि ईभीप्रतिको मोह बढाएको हो । त्यसको मतलव ईभी नराम्रो भन्न खोजेको होइन ।
यस्तै, पहिलाको पुस्ताले परिवारले जे भने त्यही नै गर्थे तर अहिलेको पुस्ता पहिला गुगल सर्च गर्न थाल्छन् ।
तर, जति देखिएको छ त्योअनुसार संसारमा ईभीको प्रयोग भइरहेको भने देखिँदैन । यसको पूर्वाधारको कमीका कारण । भारतमा करिब ५ प्रतिशतले मात्र ईभी चलाउँछन्, अमेरिकाको अनुपात पनि त्यस्तै नै छ ।
ईभीमा क्रान्ति नै ल्याएको चीनमा पनि करिब ३५ प्रतिशतले ईभी चलाउँछन् भने करिब ५० प्रतिशतले पिहेब (विद्युतीय र पेट्रोलियम पदार्थबाट पनि चल्ने हाइब्रिड गाडी) र रेन्ज एक्सटेन्डर गाडी चलाउँछन् ।
पेट्रोलियम सवारीको तुलनामा ईभी समाधान हुन सक्छ तर दिगो विकास र वातावरणीय पक्षका लागि ईभी नै दीर्घकालीन समाधान भने होइन ।
ईभी आइस गाडीभन्दा ३० देखि ४० प्रतिशत महँगो छ । नेपालमा सरकारले कर छुट दिएको भएर सस्तो जस्तो देखिएको हो ।
ईभीमा जानका लागि सबैभन्दा महत्त्ववपूर्ण भनेको नै यसको पूर्वाधार हो । यहाँ अहिले ईभीको पूर्वाधार भनेको चार्जिङ स्टेसन भन्ने मात्र बुझिएको छ । तर, त्यतिले मात्र हुँदैन ।
हाम्रो घरमा ईभी चार्ज गर्नका लागि एम्पाएर मात्र बढी क्षमताको राखेर हुँदैन यसका लागि घर जडान भएको तारको गुणस्तर पनि महत्त्ववपूर्ण हुन्छ ।
सामान्यतया हाम्रा घरमा करिब ४–६ एमएमका तारहरू प्रयोग भएका हुन्छन्, जबकि ईभी चार्जका लागि करिब ८–१० एमएमको तारको क्षमता चाहिन्छ ।
अहिले कति घरहरूमा सटसर्किट भएर आगो लाग्ने गरेको छ । यो सँगै ब्याट्रीको व्यवस्थापन पनि उत्तिकै चुनौतीको रूपमा रहेको छ ।
तर, हामी करिब ७४ प्रतिशत ईभी चलाइरहेका छौं तर सोअनुसार पूर्वाधारको बारेमा भने सोचेका छैनौं ।
आइसभन्दा ईभी सवारी सस्तो भएर जम्प गरेको मात्र छौं यसको पूर्वाधारको बारेमा हामी खासै सचेत देखिएका छैनौं ।
हामी ईभीमैत्री बन्ने हो भने हाम्रौ सबै वायरिङ प्रणालीदेखि विद्युत्को गुणस्तर, नेटवर्क, सडकको अवस्था, मौसमी अवस्थालगायत पक्षमा ध्यान दिन जरुरी छ ।
यो सँगै सरकारले यी सबै पक्षमा कति छिटो सम्बोधन गर्न सक्छ भन्ने पनि उत्तिकै महत्त्ववपूर्ण छ ।
हुन्डाइले एसेम्बल उद्योग नै सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य के हो ?
हामीले आफ्टर सेल्स सर्भिसका लागि पनि काम गरिरहेका छौं । गाडी बेचेर आएको पैसाबाट पनि देशको विकासका लागि नेपालमा नै एसेम्बिली उद्योग खोलेका छौं ।
नवलपरासीमा रहेको यो सिकेडी उद्योग ६५ हजार वर्गफिटमा फैलिएको छ । रोबर्टसहित सबै आवश्यक उपकरण राखिएको छ ।
यसमा करिब पाँच सय जनालाई रोजगारी दिइएको छ । करिब ५० जना इन्जिनियर हुनुहुन्छ । प्रोसेस इम्प्रुभमेन्टका लागि रिसर्च हुन्छ । हामीले दीर्घकालीन सोच राखेर यसमा लगानी गरेका छौं ।
लक्ष्मी कन्टिनेन्टलले नेपालमा हुन्डाई सवारीसाधनको बिक्री बढाउनका लागि कस्तो विशेष रणनीतिहरू लागू गरेको छ ?
रणनीति बजारले निर्धारित गर्छ । अहिलेका उपभोक्ता प्रयोगकर्ताको रूपमा आउनु भएको छ ।
बजारमा के चलिरहेको छ एकपटक प्रयोग गरौं न भन्नेमा उहाँहरू हुनुहुन्छ । रणनीति बनाइरहँदा हामीले यो पक्षलाई केन्द्रमा राखेका छौं ।
उपभोक्ता के चाहन्छ र कता गइरहेका छन् भनेर । देखाउने प्रवृत्ति छ त्यसलाई हामीले पनि आत्मसात् गरेका छौं तर योसँगै हुन्डाईले मार्केट भ्यालुलाई पनि छोडेको छैन ।
प्रोडक्ट बनाउनेदेखि सार्वजनिक गर्ने र आफ्टर सेल्स सर्भिसका लागि हुन्डाईले सधैं नै योजना बनाएर नै काम गरिरहेको छ ।
उपभोक्तालाई कुनै ब्रान्ड बेच्दा हाम्रो प्रतिबद्धता पनि सधैं हुन्छ र यो सम्बन्ध दीर्घकालीन हुनुपर्छ भन्ने हुन्डाईको नीति हो ।