सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न सरकारी निकायमा सवारीसाधन खरिद गर्न बजेट विनियोजन गरेको छ। गाडी खरिदका लागि सबैभन्दा ठूलो रकम सुरक्षा निकायहरूलाई छुट्याइएको छ।
बजेटअनुसार जंगी अड्डाका लागि गाडी खरिद गर्न सबैभन्दा बढी ९४ करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसपछि सशस्त्र प्रहरी बलका लागि ५१ करोड ७५ लाख रुपैयाँ, सर्वोच्च अदालतका लागि ४० करोड ४८ लाख रुपैयाँ, सैनिक हवाई महानिर्देशनालयका लागि ३८ करोड १० लाख रुपैयाँ र प्रहरी प्रधान कार्यालयका लागि २९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका लागि १५ करोड रुपैयाँ र हुलाक सेवा विभागका लागि दुई करोड ५४ लाख रुपैयाँ गाडी खरिदका लागि विनियोजन गरिएको छ।
अन्य सरकारी निकायहरूमा पनि सवारीसाधन खरिदका लागि बजेट छुट्याइएको छ।
सुरक्षण मुद्रण केन्द्रका लागि ७५ लाख रुपैयाँ, इलाका प्रशासन कार्यालयहरूका लागि ५७ लाख रुपैयाँ, हुलाक सेवा निर्देशनालयका लागि २५ लाख रुपैयाँ, जिल्ला हुलाक कार्यालयहरूका लागि २३ लाख रुपैयाँ तथा समरजंग कम्पनी कार्यालयका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रम अन्तर्गत आवश्यकता अनुसार गाडी खरिद गर्न २० करोड रुपैयाँ बजेट छुट्याएको छ।
सरकारले आगामी आर्थिक वर्षमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा विभिन्न निकायको सवारी व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले यो बजेट विनियोजन गरेको जनाएको छ।