देशभर दर्जन बढी सुरुङमार्ग बन्ने

नागढुंगा र सिद्धबाबासहित देशभर १८ वटा सुरुङमार्ग बन्ने देखिएको छ।

संघीय सरकार मातहत रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार कतिपय सुरुङमार्ग निर्माणाधीन छन् भने कतिपय अध्ययनकै सिलसिलामा छन्।

केहीको डीपीआर भइरहेको छ। बहुचर्चित सुरुङमार्ग मध्येको नागढुंगाको प्रगति करिब ८४ प्रतिशत भएको छ भने सिद्धबाबाको काम हाल २४सैं घण्टा भइरहेको छ।

यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय गरिएको छ।

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको प्रगति हालसम्म ८३ दशमलव ७५ प्रतिशत भएको छ। यो सुरुङमार्ग २०८० साउनभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो।

२ किलोमिटर ६ सय ८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङको १ हजार ७ सय ५२ मिटर खनिसकिएको छ।

यो सुरुङको कुल वित्तीय प्रगति ७६ दशमलव ६८ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ।

आर्थिक प्रगति ठेकेदार कम्पनीको मोबिलाइजेसन सहितको हो।

२०७६ साल कात्तिक २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने यस सुरुङमार्गको उद्घाटन गरेका थिए।

नेपालमा सडकतर्फ निर्माण गरिएको यो नै पहिलो सुरुङमार्ग थियो।

२०७६ असोजमा हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण सक्ने गरी सम्झौता भए पनि कोरोना र लकडाउनका कारण समय लम्बिएको हो।

आयोजनाको कुल लागत २२ अर्ब स्टिमेट गरिएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको यस सुरुङमार्गमा नेपाल सरकारको तर्फबाट ६ अर्ब लगानी भएको छ।

यो सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा आइसकेपछि संघीय राजधानी काठमाडौं छिर्ने मुख्य द्वारमा वर्षौंदेखि यात्रुहरूले भोग्दै आइरहेको ट्राफिक जामको सास्ती रोकिने छ।

रातभर यात्रामा निस्किएका यात्रुहरू काठमाडौंको मुखैमा आउँदा ट्राफिक जामले रातभरसम्मै यात्रा गरेजस्तै सास्ती भोग्नुपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *