नेपालमा सार्वजनिक यातायातमा सहुलियत सुविधा रहेको छ ।
विद्यार्थी, अपाङ्गता, जनआन्दोलनका अशक्त घाइते तथा जेष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट दिइन्छ ।
तर, सार्वजनिक यातायात सञ्चालकले शनिबार, सार्वजनिक बिदा तथा विभिन्न अवसरका दिन छुट दिँदैनन् ।
यसो गरेको पाइएमा कारबाही हुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
विभागले भनेको छ, ‘भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रुट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्नुपर्नेछ ।’
सहुलियत पाउने वर्गले आफ्नो सक्कल परिचयपत्र देखाइ सहुलियत लिनुपर्नेछ ।
विभागले सोमबार सार्वजनिक यातायातको भाडा बढाउँदै सार्वजनिक यातायात व्यवसायीले पालना गर्नुपर्ने नियम समेत स्मरण गराएको छ ।
जसमा यात्रा सुरु गर्नु अगाडि सबै यात्रुलाई अनिवार्य भाडा रकम र स्थान उल्लेख गरी टिकट जारी गर्नुपर्ने समेत राखिएको छ ।
डिलक्स स्तरीय सेवा सञ्चालन गरी थप भाडा लिने बस/मिनी बस, माइक्रो, जीपले अनिवार्य रूपमा विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयबाट स्तर निरीक्षण गराउनु पर्ने भएको छ ।
साथै सवारी दर्ता किताबमा प्रमाणित गराएपछि मात्र भाडा लिन पाउने व्यवस्था अनिवार्य गरिएको छ ।
लामो दुरीका रात्रि बसमा घटीमा दुई जना चालक अनिवार्य राख्नु पर्ने भएको छ ।
दुर्घटना न्यूनीकरणमा ध्यान दिनु पर्ने समेत सर्तमा उल्लेख छ ।
यातायात सेवा सञ्चालन गर्दा स्वच्छ तथा प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । तोकिएको भन्दा बढी भाडा लिएको भेटिएमा कारपाही हुने भएको छ ।
कर समयमा तिर्नुपर्ने र भाडादरको सूचना यात्रुले देखिने गरी राख्नु पर्ने समेत सूचमा उल्लेख छ ।