वन, वन्यजन्तु तथ जैविक विविधतामा बाधा तथा असर नपुग्ने गरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला गरिएको छ ।
निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुष्मा रानाले सोमबार साँझ ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर सगरमाथा क्षेत्रमा कानुनले तोकेको राजस्व बुझाई हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न सबै कम्पनीलाई अनुरोध गरेकी छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका तर्फबाट अधिकृत रानाले यसअघि मंसिर २६ मा हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ देखि पूर्ण रूपमा रोक लगाएको भनी सबै ११ हेलिकोप्टर कम्पनीलाई पत्र लेखेकी थिइन् ।
निकुञ्जको निर्णयअघि मंसिर २२ मा खुम्बु पासाङल्हामु गाउँपालिका चौरीखर्कले पनि पुस १७ (१ जनवरी २०२५) देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको थियो ।
निकुञ्ज कार्यालयले हेलिकोप्टर खुला गरेको निर्णयको पत्र हेलिकोप्टर कम्पनीबाहेक नेपालभर उडान अनुमति जारी गर्ने संघीय सरकारअन्तर्गतको प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका, भगवतीप्रसाद गुल्म, नाम्चेबजार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहललगायत ८ निकायलाई दिएको छ ।
वायु सेवा सञ्चालक संघका सदस्य कम्पनीले भने हेलिप्याडमा राखिएका अवरोध हटाउनुपर्ने र खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि हेलिकोप्टर उडानमा अवरोध हटाएको पत्र पठाउनुपर्ने भनेका छन् ।
मंगलबार गाउँपालिकामा हुने कार्यपालिका बैठकले यसबारे निर्णय गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।
‘हेलिकोप्टर उडानमा लगाइएको रोकबारे निकुञ्जले निर्णय गरेको थियो । सोमबार अबेर मात्र विज्ञप्ति प्राप्त भयो ।
यसबारे भोलिको बैठकले गाउँपालिकाको धारणासहित निर्णय लिनेछ,’ भुसालले भने ।
अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन र अन्यथा कारबाही गरिने भन्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले सोमबार दिउँसो सूचना जारी गरेको थियो ।
‘केही दिनदेखि सोलुखुम्बुमा रहेका विभिन्न हेलिप्याडमा अनधिकृत व्यक्तिहरूले हेलिकोप्टर आवागमन (उडान) मा अवरोध पुर्याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएकाले जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘नियमअनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा/अवरोध गर्ने/गराउनेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ ।’
Post Views: 21