Skip to content
राष्ट्रिय गौरवको आयोजनासमेत रहेको पूर्व–पश्चिम ‘हुलाकी राजमार्ग’को लागत अनुमान बढेर एक खर्बभन्दा बढी पुगेको छ ।
सडक विभागको वार्षिक प्रतिवेदन ०८०/८१ अनुसार आयोजनाको संशोधित लागत अनुमान एक खर्ब एक अर्ब ६३ करोड पुगेको हो ।
योसँगै लागतका आधारमा हुलाकी राजमार्ग नेपालकै दोस्रो महँगो (ठुलो) सडक आयोजना भएको छ ।
अहिले निर्माणाधीन ७२.५ किमि लामो काठमाडौं–तराई मधेश द्रुतमार्गको लागत अनुमान दुई खर्ब १३ अर्ब छ ।
यसपछि ८४ अर्ब ३३ करोड रुपैयाँ लागतमा मध्य पहाडी लोकमार्ग निर्माण भइरहेको छ ।
आव ०६६/७७ देखि निर्माण सुरु गरिएको हुलाकी राजमार्ग आव ०८३/८४ सम्म सम्पन्न गर्ने प्रस्तावित लक्ष्य छ ।
आयोजनाको सुरुको प्रारम्भिक लागत अनुमान आव ०६६/७७ अघि ४७ अर्ब २४ करोड थियो ।
यसअघि असार ०८० सम्म परियोजनाको संशोधित लागत अनुमान ६५ अर्ब २० करोड थियो ।
त्यसपछिको एक वर्षमा परियोजनाको लागत अनुमान ३६ अर्ब ४३ करोड रुपैयाँ बढेर एक खर्ब एक अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।
आयोजना निर्देशक कुबेर नेपालीले परियोजनाअन्तर्गत गर्नुपर्ने काम बढेपछि लागत अनुमान पनि बढेको बताए ।
सडकको विस्तार, पुलको संख्यामा भएको वृद्धिलगायतका कारण पनि लागत बढेको उनको भनाइ छ ।
यसैगरी, केही सडकखण्डको अन्तिम डिपिआर आउँदा पनि लागत बढ्न गएको उनले बताए ।
‘यसको लागत अनुमान धेरै पहिला गरिएको हो । पहिले यो परियोजना बनाउन यतिका समय लाग्छ भन्ने पनि थिएन ।
यसबिचमा निर्माण सामग्रीको मूल्यमा आएको परिवर्तनले पनि असर पु¥याएको छ । साथै केही सडकखण्डका अन्तिम डिपिआर बनेका छन् ।
साथै, परियोजनाअन्तर्गत गरिने काम पनि बढेका छन्,’ उनले भने, ‘यी यस्ता कारण परियोजनाको लागत अनुमान बढेको छ ।
साथै, यस परियोजनाबाट धेरै नागरिक लाभान्वित हुन्छन् । तसर्थ, यस सडकको क्षेत्र विस्तार हुँदै गएको छ । सोहीअनुरूप लागत पनि बढ्दै गएको छ ।’
पूर्वी झापाको भद्रपुरदेखि पश्चिम कञ्चनपुरको दैजीसम्म यो सडक बन्दै छ ।
पहिला तराई–मधेशमा चिठी आदान–प्रदान गर्न प्रयोगमा रहेको हुलाकी सडकलाई नै राजमार्गका रूपमा विस्तार गरिएको थियो ।
यसले तराईका २२ जिल्लालाई जोड्छ । यसको कुल लम्बाइ १८ सय ५७ किमि रहेको छ ।
त्यसमा पूर्व–पश्चिम सडक नौ सय ५७ किमि लामो रहेको छ ।
त्यसबाहेक तराईको दक्षिण–उत्तर क्षेत्र जोड्न विभिन्न ३५ वटा सहायक सडक बनाइएको छ, त्यसको कुल लम्बाइ आठ सय ८२ किमि छ ।
पहिला यसमा दुई सय १९ वटा पुल बनाउने भनिएको थियो । असार ०८० सम्म आउँदा त्यहाँ दुई सय ५० वटा पुल बनाउने भनिएको थियो ।
अहिले त्यहाँ पुलको संख्या बढेर तीन सय पुगेको छ । हालसम्म यस परियाजनाको भौतिक प्रगति ६६.९१ प्रतिशत पुगेको छ ।
त्यसमा सडक ट्र्याक खुलिसकेको छ । त्यसमा १२ सय ५९ किमि सडक कालोपत्रे भइसकेको छ ।
यसैगरी एक सय ४२ वटा पुल निर्माण गरिएको छ । परियोजनाको वित्तीय प्रगति भने ६२.६९ प्रतिशत पुगेको छ ।
गत आवमा विभागले उक्त परियोजनाको एक सय किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो ।
त्यसमा ६४ किमि सडक कालोपत्रे भएको प्रतिवेदनमा उल्लेख छ ।
१० वटा पुल–कल्भर्ट निर्माण गर्न लक्ष्य लिएकोमा सात पुल र तीन वटा कल्भर्ट निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
Post Views: 18