करिडोर सडक सुधार

करिडोर सडक सुधार: अविरल वर्षासँगै भएको डुबान तथा बाढीका कारण बिग्रिएका उपत्यका आसपासका नदी करिडोरका सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ ।

उपत्यका नदी संरक्षण तथा सुधारको मुख्य अख्तियारी पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सडक सुधारका लागि प्रस्ताव पेस गरेको हो।

समितिका सूचना अधिकृत उद्धव नेपालले उपत्यकाका नदी करिडोरमा पर्ने सडकखण्ड सुधार गर्न, नदी आसपासमा थुप्रिएका माटो, ढुङ्गा तथा गेग्रान सफा गर्न, नदीमा लगाइएको पर्खाल बाढीले भत्काएकाले पुनः पर्खाल लगाउन, फुटपाथ, पार्क सुधार गर्नका लागि करिब ८० करोड लागत लाग्ने भएको जानकारी दिए ।

‘गत असोजको विपद्पछि बिग्रिएको ‘वाग्मती सुन्दरता’ लाई फेरि फर्काउनु छ, सडक सुधार गर्नुपर्ने छ’, उनले भने, ‘तर हामीसँग बजेटको अभाव छ, तसर्थ आवश्यक पर्ने लागत व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेका छौँ ।

बजेट आएपछि मात्रै काम अगाडि बढ्ने छ ।’

विपद्का कारण क्षतिग्रस्त वाग्मती, हनुमन्ते, मनहरा, नख्खु, गोदावारी, कर्मनासा नदी करिडोरको सडक सुधारलगायतका कामहरू अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

सहरी मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्य मात्रै करिब १२ करोड ८१ लाख लागत लाग्ने अनुमान गरिएको जानकारी दिए ।

‘नदी किनारामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएको क्षतिग्रस्त नदी तटबन्धन, पर्खालको पुनःनिर्माण तथा बाटोलगायतका अन्य संरचनामा पनि क्षति पुगेको छ’, उनले भने, ‘यी संरचना बनाउनका लागि करिब ८० करोड अनुमानित लागत लाग्ने छ ।’

बज्राचार्यका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको चाँगुनारायण, मध्यपुर थिमि, र सूर्यविनायक नगरपाालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति,  धोबीखोलाअन्तर्गत छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ ।

‘यी संरचना बनाउन तथा सुधार गर्नका लागि ११ करोड ४६ लाख लाग्ने छ, यसरी हाम्रो मन्त्रालयअन्तर्गतका संरचना निर्माणका लागि दुई अर्ब ८८ करोड ३४ लाख लागत लाग्ने पूर्वानुमान छ’, उनले भने ।

बज्राचार्यले उपत्यकाका नदी आसपासका करिडोर सुधारका साथै सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्यचौकी भवन, सडक, सडकका जडान भएका बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए ।

‘स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड तथा २८ वटा झोलुङ्गे पुल आंशिकरूपमा क्षति र ३२ वटा झोलुङ्गे पुल पूर्णरूपमा क्षति पुगेको छ’, उनले भने, ‘यो विभागअन्तर्गतका यी संरचना पूर्णरूपमा निर्माण गर्न तथा सुधार गर्नका लागि एक अर्ब ७७ करोड चार लाख  लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *