दैलेख पेट्रोलियम अन्वेषण : ८० प्रतिशत काम सकियो: दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ८० प्रतिशत सकिएको छ ।
२०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार एक सय मिटर पुगेको छ ।
४ हजार मिटर देखि ४ हजार पाँच सय मिटरसम्म जमिन मुनि ड्रिलिङ पाइप पुराउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियान अन्तर्गत यो कार्य सञ्चालनमा छ ।
अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् ।
अझै एकिन भन्न सकिने अवस्था त छैन तर जमिन मुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिए अनुसार केही लिकेज ग्यासहरु देखिएको छ ।
यसले सकारात्मक संकेत गर्दछ अधिकारीहरु बताउँछन् । साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ ।
अहिले जमिन मुनि साना भण्डारणहरू समेत देखिएकोले थप आशा र उत्साह बढेको पदाधिकारुहरुले बताए ।
भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने भएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो ।
अन्वेषण कार्यले नेपालमा उत्पादन योग्य पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावना धेरै भएकोले दैलेखका बासिन्दाहरू खुसी देखिएको प्रतिनिधि सभा सदस्य दीपा शर्माले जानकारी दिएकी छिन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै बेलामा सम्पन्न हुने र देशको आर्थिक अवस्था सुधारको एउटा चरण सुरु हुने आशा गरिएको शर्माको भनाई छ ।
सरकारले विभिन्न देशहरुसँग सहकार्य गरेर धेरै आयोजनाहरू सुरु गरेको छ । अधिकांस योजनाहरू लथालिङ्ग अवस्थामा छन् ।
कतिपय पुरा भएका छैनन् तर चीन सरकारको यो परियोजना छिटो काम भएको र प्रतिफल पनि राम्रो आउने आशा लागेको स्थानीय कोकिला शर्माको भनाई छ ।
विगत १७ वर्षदेखि सुरु हुन्छ भनेर काम थालनी नभएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणमा पनि सरकारले यस्तै तदारुकता देखाउनुपर्ने स्थानीयको माग छ ।
Visit homepage : eautonepal.com