ओभरलोडले जिप दुर्घटना: ग्रामीण सडकमा क्षमताभन्दा झन्डै तीन गुणा यात्रु सवार बोलेरो जिप दुर्घटनामा पर्दा सातजनाको ज्यान गएको छ ।
१८ यात्रु (चालकबाहेक) सवार रहेको जिप कालीकोटको पलाँता गाउँपालिका– ३, राडुमा आइतबार दुर्घटनामा परेको हो ।
पलाँता गाउँपालिकाको खिनबाट थिर्पुका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाएका सात र गम्भीर घाइते १२ गरी १९ जना नै एउटै पालिकाका हुन् ।
कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा परेको क.१ज ५६ नम्बरको बोलेरो जिपको सिटक्षमता नौ यात्रुको मात्र हो ।
जिपले क्षमताभन्दा बढी यात्रु बोकेको र अप्ठेरो सडक रहेकाले दुर्घटना भएको हुन सक्ने आकलन गरिएको उनले बताए ।
‘सडक गाभ्रेल मात्र छ, क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना भएको देखिन्छ,’ उनले भने ।
प्रहरीका अनुसार दुर्घटनामा पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, वडा नम्बर ३ का छाया शाही र वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको घटनास्थलमा ज्यान गएको हो ।
त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका चालक ४६ वर्षीय धनीराम रावतको सुर्खेतमा ज्यान गएको छ ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १२ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । पलाँता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकायाको उपचार भइरहेको छ ।
त्यस्तै, गम्भीर घाइते वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विकको पनि उपचार भइरहेको छ ।
Visit homepage : eautonepal.com