मेलम्चीको सात करोड लिटर पानी बागमतीमा दैनिक पठाइँदै

मेलम्चीको सात करोड लिटर पानी बागमतीमा दैनिक पठाइँदै: मेलम्ची नदीबाट काठमाडौैंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आएकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।

अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौं आइरहेको छ ।

तर, करिब १८ करोड लिटर पानी मात्रै प्रशोधन गरी वितरण गर्ने गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले बताए ।

उनले भने, ‘मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी बागमती नदीमा छाडिएको छ ।’

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहोर देखिँदै आएको नदी क्रमिक रूपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *