पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– ६ मा विद्युतीय भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए।
घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको उनले बताए।
सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरूले रिजर्भ गरेको बताइएको छ।
दुर्घटनामा परी घाइते भएकाहरूको दुर्घटनास्थलनजिकै रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको सिलवालले जानकारी दिए।