एसआरएम माइक्रो बस भरतपुरमा: चितवन यातायात प्रालिले ११ सिट क्षमताको विद्युतीय गाडी एसआरएम म्याजिक खरिद गरेको छ ।
विशाल ग्रुपले भरतपुरस्थित आधिकारिक बिक्रेता इनर्जी मोटर प्रालिमार्फत विद्युतीय गाडी बिक्री गरेको हो ।
सार्वजनिक यातायातका लागि चितवनमा पहिलोपटक ३२ किलोवाटको म्याजिक बिक्री गरेको हो ।
नजिकको दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको प्रयोगमा विद्युतीय सवारीसाधन रोजाइमा पर्न थालेपछि विद्युतीय गाडी उत्पादक तथा बिक्रेतामा खुसीयाली छाएको छ ।
‘लामो दूरीका सार्वजनिक सवारीसाधन चल्तीमा आइसके पनि छोटो दूरी तथा स्थानीय रूटमा चल्ने विद्युतीय गाडी पहिलोपटक बिक्री गरिएको हो’, चितवन यातायात प्रालिलाई गाडीको चाबी हस्तान्तरण गर्दै एसआरएम इभीका सेल्स हेड ज्ञानप्रसाद शर्माले भने, ‘कम आयस्रोत भएका यातायात व्यवसायीका लागि यो गाडी उपयुक्त छ ।’
कम्पनीले व्यवसायीको मागअनुसारका सवारीसाधनको उत्पादनलाई प्राथमिकतामा राख्दै आएको उनले बताए ।
नेपालमा ४२ किलोवाट क्षमताको म्याजिकपछि ३२ किलोवाटको म्याजिक बजारमा ल्याएको उनको भनाइ छ ।
एकपटक पूरा चार्ज गरेपछि २२० किलोमिटर गुड्ने गाडीको मूल्य ३७ लाख रहेको उनले बताए ।
‘अहिले दसैँतिहारको योजनामा भएकोले हामीले ३५ लाख रूपैयाँमा बिक्री गरिरहेका छौँ’, उनले भने, ‘यो सबैभन्दा सस्तो मूल्यको गाडी हो ।’
चितवन यातायात प्रालिका अध्यक्ष खेमबहादुर आलेमगरले परीक्षणका लागि चितवन जिल्लाभित्र चल्ने गरी दसवटा विद्युतीय गाडी खरिद गरिएको बताए ।
‘हाललाई एउटा गाडी हामीले लिएका छौँ, तत्काल दसवटा गाडी जिल्लाभित्र चल्नेछन्’, उनले भने, ‘स्थानीय रूटका लागि यो गाडी अत्यन्तै उपयुक्त छ भन्ने हामीले ठानेका छौँ ।’
२००९ देखि २०२० मोडलसम्मका म्याजिक भ्यानहरु चितवनका सडकमा गुडिरहेको भन्दै ती म्याजिक पुरानो हुँदै जाँदा त्यसैको विकल्प खोज्दै विद्युतीय गाडीसम्म आइपुगेको उनको भनाइ छ ।
चितवन यातायात प्रालिसँग म्याजिक भ्यान भित्रिनुपूर्व ट्याम्पो थियो ।
म्याजिक आएपछि पुराना ट्याम्पो बिस्तारै विस्थापित हुँदै गयो ।
विद्युतीय म्याजिकको प्रवेश पनि भावी दिनमा डिजेलबाट चल्ने म्याजिक भ्यानको विकल्प भएको चितवन यातायात प्रालिका उपाध्यक्ष कमल तिवारी बताउँछन् ।
‘यो त समयको माग हो । हिजो हामीले ट्याम्पो चलायौँ, आज डिजलवाला म्याजिक भ्यान चलिरहेको छ ।
ती पनि थोत्रा हुँदै गए, नयाँ सवारी आयो’, उनले भने ।
विद्युतीय म्याजिकको प्रयोगबाट इन्धनमा हुने खर्चमा भारी कटौती हुने व्यवसायीको भनाइ छ ।
करिब २२० किलोमिटर दूरीको यात्रा गर्न कम्तीमा पनि दुई हजार ५०० रूपैयाँबराबरको डिजल खर्च हुँदै आएको भन्दै तिवारी भन्छन्, ‘विद्युतीय म्याजिकमा करिब पाँच सय रूपैयाँ खर्च गरे त्यति नै दूरीको यात्रा गर्न सकिने देखियो ।’
Visit homepage : eautonepal.com