असोजमा मात्रै ८५ करोड नोक्सानी

असोजमा मात्रै ८५ करोड नोक्सानी: बाढीपहिरोले क्षति पुर्‍याएको देशकै ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी बन्द हुँदा असोजमा मात्रै ८५ करोडभन्दा बढी आम्दानी गुमेको छ ।

१०–१२ असोजको वर्षासँगै आएको पहिरोले परियोजनाको बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा अहिले उत्पादन बन्द छ ।

प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरले बर्खामा प्राधिकरणलाई विद्युत् बिक्री गरेबापत प्रतियुनिट तीन रुपैयाँ ५० पैसा र हिउँदमा चार रुपैयाँ ६ पैसा प्राप्त गर्छ ।

यो परियोजनाले गत आव ०८०/८१ मा विद्युत् बिक्री गरेर आठ अर्ब ७५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विद्युत् बिक्री गरेर मासिक औसत ७३ करोड रुपैयाँ आम्दानी गर्छ ।

बर्खाको समयमा विद्युत् उत्पादन धेरै हुँदा आम्दानी पनि मासिक अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

तर, पहिरोले बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन रोकिएर असोजमा मात्रै ८५ करोड ६ लाख ४७ हजार नौ सय ३० रुपैयाँबराबरको आम्दानी गुमेको कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उक्त कम्पनी प्राधिकरणकै सहायक कम्पनी हो । ‘यो त प्रवर्द्धक कम्पनीले गुमाएको आम्दानी मात्रै हो । त्यही विद्युत् बिक्री गरेर प्राधिकरणले प्राप्त गर्ने खुद आम्दानी पनि गुमेको छ ।

त्यस्तो आम्दानी कति गुम्यो भनेर तथ्यांक तयार भइसकेको छैन । प्राधिकरणको मात्रै थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको अनुमान छ,’ उनले भने, ‘यही कारण निर्यातसमेत प्रभावित भएको छ ।’

यसअघि नेपालबाट आठ सय मेगावाटभन्दा बढी विद्युत् भारतमा निर्यात हुन्थ्यो । अहिले त्यो चार–पाँच सय मेगावाटमा सीमित भएको छ ।

आम्दानी नै गुमेपछि माथिल्लो तामाकोशी कम्पनीलाई ऋणको किस्तासमेत भुक्तानी गर्न चुनौती हुने जोखिम बढेको छ । ऋण धेरै भएका कारण अहिले परियोजनाले नाफा कमाउन सकेको छैन ।

१२ असोजमा माथिबाट ढुंगासहित खसेको पहिरोले बिगु गाउँपालिका– १, लामाबगरस्थित परियोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठुलो क्षति पुगेको थियो ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम)को दुईतले भवनमा माथिबाट ठूला–ठूला ढुंगा बजारिएका थिए ।

त्यसले गर्दा कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चारजनाको मृत्यु पनि भएको थियो ।

उक्त भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

यसैगरी, बालुवा थिग्र्याउने दुई पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने दुई भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको थियो ।

डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठूला ढुंगा थुप्रिएका थिए ।

दुईवटा पोखरी प्रत्येकमा ७५–७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको थियो ।

फलस्वरूप विद्युत्गृहसम्म पानी पुर्‍याउन सक्ने अवस्था नभएपछि परियोजना अहिले बन्द अवस्थामा छ ।

त्यसले गर्दा परियोजनामा दुई अर्ब रुपैयाँमाथिको क्षति भएको छ ।

साथै, आम्दानीसमेत नमज्जाले प्रभावित भएको छ । अहिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने काम भइरहेको छ ।

अर्धजलाशय प्रकृतिको यो परियोजना सरकारी स्वामित्वमा निर्माण गरिएको थियो ।

खुद ५२ अर्ब रुपैयाँ र ब्याजसहित ८४ अर्ब रुपैयाँ लागतमा असार ०७८ देखि यो परियोजना सञ्चालनमा थियो ।

०६७ देखि परियोजनाको निर्माण सुरु भएको थियो ।

राष्ट्रिय ग्रिडको कुल जडित क्षमता ३३ सय मेगावाट हाराहारी हुँदा तामाकोशीको मात्रै चार सय ५६ मेगावाट योगदान छ ।

सबैभन्दा ठुलो र अर्धजलाशय प्रकृतिको भएकाले हिउँदको समयमा यसको महत्व धेरै छ ।

हिउँदमा दिनभरि पानी जम्मा गरी पिक आवरमा पूर्ण क्षमतामा यो परियोजना सञ्चालन गर्न सकिन्छ ।

यसले राष्ट्रिय विद्युत् आपूर्तिमा ठुलो योगदान छ । यही परियोजना बन्द हुँदा इकोनोमिक नोक्सानी भएको प्राधिकरणको भनाइ छ ।

Visit homepage: eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *