अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अर्थतन्त्रलाई लयमा ल्याउने प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल खस्किएको निजी क्षेत्रको मनोबललाई उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेकपा एमाले निकट संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँग उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा अघि बढाउने बताए ।

‘अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा रहेको निजी क्षेत्रलाई साथमा नलिई सरकार अघि बढ्न सक्दैन,’ उनले भने, ‘मलाई थाहा छ, अहिले निजी क्षेत्रको मनोबल खस्किएको छ, तर अबका दिनमा यहाँहरूको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्नेछु ।’

यसैगरी अर्थमन्त्रमा जे–जति समस्या देखिएका छन् सो विषयमा सरकार र निजी क्षेत्र एकै ठाउँमा बसेर निकास निकाल्नुपर्नेमा उनले जोड दिएका थिए ।

‘हामी छलफलको सुरुवात गर्दैछौं अब विषयगतरूपमा समस्या पहिचान गरी समाधान गर्नुपर्छ,’ उनले भने, ‘अहिले देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रलाई गतिमा ल्याउन सरकार र निजी क्षेत्रबीचको निरन्तर छलफललाई जारी राख्नुपर्छ ।’

महासंघका संयोजक भागिरथ सापकोटाले अहिले निजी क्षेत्र ठूलो समस्यामा परेकाले यसलाई समाधान गर्न सरकारले तत्काल अग्रसरता दिनुपर्ने बताए ।

यसअघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजार लगायत अर्थतन्त्रका सूचकहरूले उच्चविन्दु छोएको भन्दै उनले अबका दिनमा पनि निजी क्षेत्रलाई साथमा लिएर काम गर्न आग्रह गरेका थिए ।

उक्त भेटघाटमा संयोजक सापकोटाका साथै महासचिव बालकृष्ण शिवाकोटी, कोषाध्यक्ष डिमप्रकाश पौडेल, कार्यालय प्रमुख सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुख रामराजा श्रेष्ठलगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *