जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।
कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३४ वटा ट्रकलाई कारबाही गरेको छ ।
सोबापत १० लाख छ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, एक हजार दुई सय ४५ वटा बस कारबाहीमार्फत १० लाख ४२ हजार पाँच सय रुपैयाँ, दुई हजार आठ सय ९६ वटा साना सवारी कारबाहीबापत २२ लाख १७ हजार रुपैयाँ र ७४ वटा टेम्पो कारबाहीबापत ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख भट्टराईले बताए ।
कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ , मृत्यु हुनेमा सात पुरुष र चार महिला रहेका छन् ।
यस्तै, कार्यालयले तीन सय ४६ वटा दुर्घटना न्यूनीकरण तथा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।
सो कार्यक्रममार्फत ५१ हजार ३५ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक, धनी तथा व्यवस्थापकलाई सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्नेछ ।
ट्राफिक संकेत वा ईसारा उल्लङ्घन गरी सवारी चलाए, निषेधित क्षेत्रमा पार्किङ गरेमा, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि संकेत दिएमा, लेन मिचेमा, अवस्था ठीक नभएको सवारी चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।
यस्तै, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, राति बत्ती नबाली सवारी चलाएको तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा पनि कारबाही गरी जरिवाना गर्ने व्यवस्था रहेको छ ।