मुग्लिन–नारायणगढ सडकले पटक–पटक पीडा दिए पनि उक्त सडकको विकल्प छैन । जब ठूला दुर्घटना र क्षति निम्तिन्छन् तब वैकल्पिक मार्गको चर्चा वर्षौँदेखि नै हुँदै आएका छन् ।
यसपालि भने सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैकल्पिक राजमार्ग बनाउन सम्भाव्यता अध्ययनका लागि दुई करोड ६९ लाख ३२ हजार छुट्याएको छ ।
मुग्लिन–नारायणगढमा त्रिशूलीपारि सडकको सम्भाव्यता अध्ययन र रेखांकनलगायत काम सुरु गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताए ।
‘उक्त सडकमा पटक–पटक समस्या आइरह्यो । त्यसले नेपालकै आपूर्ति शृंखला पनि बिगा¥यो ।
त्यसैले, आगामी आवको बजेटमार्फत पारिपट्टि समानान्तर वैकल्पिक सडक बनाउने योजना अघि बढाएका छौँ,’ उनले भने, ‘मुग्लिनपारिबाट गाईघाट, दासढुंगा, ठिमुरा हुँदै गैँडाकोटसम्म सडक बनाउन अध्ययन हुनेछ ।’ मुग्लिनदेखि गैँडाकोटसम्म ३२ किमि दूरी पर्छ ।
कालीगण्डकीमाथि पुल बनेकाले यो सडक बने पश्चिमका गाडी चितवन आउनै पर्दैन ।