मुग्लिन–नारायणगढ सडक सधैँ धराप

गुड्दागुड्दैका सवारीसाधन पहिरोमा पुरिएर तथा त्रिशूलीमा खसेर मान्छे मर्ने दुर्दशा अन्त्य गर्न पाँच अर्ब १३ करोड खर्चिएर दुई लेनमा स्तरोन्नति गरिएको मुग्लिन–नारायणगढ सडक सधैँ धराप नै छ ।

०७५ मा स्तरोन्नति भएयता ६ वर्षमा यो सडकमा तीन सय ७९ सवारी दुर्घटना भएका छन् । जसमा ११७ जनाले ज्यान गुमाएका छन् भने ९७८ घाइते भएका छन् ।

विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत मुग्लिन–नारायणगढ ३६ किमिमध्ये मुग्लिनदेखि आँपटारीसम्म ३३ किमिलाई दुई लेनमा विस्तारसहित स्तरोन्नति गर्न तीन अर्ब ४० करोड खर्च भएको थियो ।

तीन अर्बको ठेक्कामा ७ वैशाख ०७२ मा काम सुरु भएकोमा पाँचपटकसम्म म्याद थपेर २४ साउन ०७५ मा स्तरोन्नति सक्दा तीन अर्ब ४० करोड खर्च भएको थियो ।

त्यस्तै, सडक स्तरोन्नति सकेपछि साँघुरा पुलको ठाउँमा नयाँ पुल बनाउन एक अर्ब २३ करोड खर्च भएको छ ।

१५ मध्ये चार पुल निर्माणाधीन छन् । थप ५० करोड खर्च पहिरोको जोखिम घटाउनमा भएको छ ।

३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरेर रोकथामका लागि काम गर्दा उक्त खर्च भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । तर, दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको छैन ।

यात्रुवाहक र मालवाहक गरी दैनिक ११ हजार सवारीसाधन गुड्ने यो सडकखण्डमा चालू आर्थिक वर्षमा मात्रै ५५ सवारी दुर्घटना भएका छन्, जसमा २१ जनाको मृत्यु भएको छ ।

असारका २९ दिनमा मात्रै १४ पहिरो खसेको र ४५ दिन सडक अवरुद्ध भएको सडक विभागको तथ्यांक छ । यो महिना १६ सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६७ घाइते भएका छन् ।

यसअघि जेठमा ६ दुर्घटनामा तीनको मृत्यु र २८ जना घाइते भएका थिए भने वैशाखमा पाँच दुर्घटना हुँदा दुईको मृत्यु र २४ घाइते भएका थिए ।

बर्खा लागेपछि कालीखोला, सिमलताल, हुक्दीलगायत ठाउँमा पटक–पटक पहिरो खसेको छ । यस अवधिमा घण्टौँसम्म सडक एकतर्फी मात्र सञ्चालन भएको छ ।

‘हामीले राखेको तथ्यांक ठुल्ठूला पहिरो खसेर सडक अवरुद्ध भएको हकमा मात्र हो,’ सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की क्षेत्रीले भने, ‘बर्खामा स–साना पहिरो त धेरै नै खसिरहन्छन्, त्यसको रिपोर्टिङ र तथ्यांक हामीसँग छैन ।’

अघिल्लो आर्थिक वर्ष ०७९/८० मा नारायणगढ–मुग्लिन सडकखण्डमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने १५९ जना घाइते भएका थिए ।

प्रहरीले दुर्घटनाको कारणबारे छुट्टै तथ्यांक नराखे पनि बर्सात र चार्डपर्वका समयमा धेरै सवारी दुर्घटना भएको देखिन्छ ।

नेपालको राष्ट्रिय राजमार्गमा नारायणगढ–मुग्लिन सडकको महत्व पृथक् छ । यो सडकले हिमाल, तराई र पहाडलाई एकआपसमा जोडेको छ ।

पूर्वदेखि पश्चिमसम्मका अधिकांश नागरिक राधजानी आउजाउका लागि यही सडक प्रयोग गर्छन् ।

तराईका उत्पादित वा भारतबाट आयातित खाद्यान्नलगायत सामग्री काठमाडौैं, पोखराजस्ता ठूला सहरमा यही सडकबाट ढुवानी हुन्छ ।

त्यसैले नारायणगढ–मुग्लिन क्षेत्र अवरुद्ध हुँदा देशको समग्र आपूर्ति शृंखला नै प्रभावित हुन्छ ।

मध्यपहाडी लोकमार्ग र काठमाडौं जोड्न अन्य वैकल्पिक सडक भएपछि नारायणगढ–मुग्लिन सडकको महत्व भने उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *