भारतमा विद्युतीय स्कुटर टीभीएस आइक्यूब कुनै दुर्घटनामा नपर्दा नै च्यासिस ड्यामेज भएको घटना बाहिर आएको छ ।
भारतीय एक उपभोक्ता आइक्यूब किनेर चलाइरहेका मोहित बडायाले एक भिडियो सार्वजनिक गर्दै आइक्यूबमा रहेको समस्या बाहिर ल्याएका हुन् ।
उनले ल्याएको भिडियोमा टीभीएस आइक्यूबको च्यासिस कुनै पनि दुर्घटना नहुँदै ड्यामेज भएको देखिन्छ ।
बडायाले सार्वजनिक गरेको भिडियोले अहिलेसम्म ३२ मिलियनभन्दा बढी भ्युज पाइसकेको छ ।
साथै, भिडियोमा कमेन्ट गर्ने अन्य प्रयोगकर्ताले पनि समान समस्या भोगिरहेको उल्लेख गरेका छन् ।
उक्त पोष्ट भाइरल भएसँगै कम्पनीले समस्याको पहिचान गरी आइक्यूब ‘रिकल’ गरेको छ ।
भारतकै सर्वाधिक सफल मध्येको एक इलेक्ट्रीक स्कुटर आइक्यूब अहिलेसम्म ३ लाख युनिटभन्दा धेरै बिक्री भइसकेको छ ।
टीभीएस मोटर्सले समस्या बाहिर आउने बित्तिकै स्कुटरको भोलेन्टरी रिकल गरेको हो ।
कम्पनीले २०२३ जुलाई १० देखि २०२३ सेप्टेम्बर ९ सम्म उत्पादन भएका स्कुटर रिकल गरेको जनाएको छ ।
कम्पनीले आइक्यूबको च्यासिस ट्युबको परीक्षण गर्ने भन्दै स्कुटर रिकल गरेको छ । टीभीएसले ठ्याक्कै रिकलको संख्या नभने पनि करिब ४५ हजार युनिट हाराहारी हुनसक्ने बताइन्छ ।
टीभीएसका डिलर नेटवर्कले आफ्ना ग्राहकहरूलाई सम्पर्क गरेर स्कुटरको बारेमा परीक्षणका लागि बोलाइरहेको छ ।
च्यासिसमा कुनै पनि खराबी भए कम्पनीले निःशुल्क परिर्वतन गरिदिने जनाइएको छ ।
नेपाली बजारमा उक्त स्कुटर कति आएको छ भन्ने एकीन जानकारी प्राप्त भएको छैन । यद्यपि, ती लटको स्कुटर नेपाल आएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।