फाप्लु मोटर र्‍यालीमा अटो जिमखाना प्रतियोगिता हुने

नेपाल अटोमोबाइल एसोसियसन (नासा) र चितवन अटोमोबाइल डिलर्स एसोसियसनले संयुक्त रुपमा बैशाख ५ गते मोटर र्‍याली हुने छ ।

धार्मिक क्षेत्र देवघाटदेखि खोटाङको फाप्लु – हलेसीसम्म मोटर र्‍याली हुने भएको छ ।

मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍यालीसहित अटो जिमखाना प्रतियोगिता पनि यो क्रममा सम्पन्न हुने आयोजकहरुले जानकारी दिएका छन् ।

नासा बागमती प्रदेशका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।

विजेतलाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको उनले बताए ।

टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।

सहभागिमध्ये जो आयोजकहरुले दिएको एभरेज गतिमा समयमै गन्तब्यमा पुग्दछ टिडिएस र्‍यालीको विजेता उही हुने अध्यक्ष पियाले बताए ।

देवघाटदेखि हलेसीसम्म ३२७ किलो मिटरको दुरीमा टिडिएस र्‍याली हुने छ ।

टिडिएस र्‍यालीको रुट देवघाट, हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, फाप्लु – हलेसी हुनेछ ।

त्यसैगरी खोटाङ हर्कपुरको सुनकोशी किनारमा अटो जीमखाना प्रतियोगिता हुने छ ।

अटो जिमखाना मोटर रेसिङको सर्ट सर्किट विधा हो, कलात्मक रुपले छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *