जापानी अटोमोबाइल पार्ट्स निर्माता कम्पनी एस्टरले लामो समयदेखि टोयोटाका सवारीसाधनका लागि आवश्यक पार्टपुर्जा आपूर्ति गरेर आम्दानी गर्दै आएको थियो । तर चिनियाँ कम्पनीसँगको तीव्र प्रतिस्पर्धाका कारण जापानको अटोमोबाइल उद्योग दबाबमा परेसँगै एस्टरले आफ्नो व्यवसायको नयाँ क्षेत्रका रूपमा रक्षा प्रविधिलाई अघि बढाएको छ ।
कम्पनीले उत्पादन गर्ने विद्युतीय मोटर अमेरिकी सैन्य प्रविधि कम्पनी एन्डुरिलले निर्माण गर्ने ड्रोनमा प्रयोग हुन थालेका छन् । गत वर्षदेखि रक्षा क्षेत्रमा प्रवेश गरेको एस्टरको कुल आम्दानीमा अहिले यस क्षेत्रको योगदान १० प्रतिशत पुगेको छ ।
जापानको लामो समयदेखिको शान्तिवादी नीतिका कारण रक्षा उद्योगमा संलग्नतालाई त्यहाँका नागरिकले परम्परागत रूपमा सहज रूपमा लिने गरेका छैनन् । तर बदलिँदो व्यावसायिक परिस्थितिका बीच एस्टरले भने रक्षा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताकेनोबु होङ्गोले अटोमोबाइलको तुलनामा ड्रोन उत्पादनसँग सम्बन्धित व्यवसाय बढी लाभदायक देखिएको बताएका छन् । उनका अनुसार हाल कम्पनीले उत्पादन गर्ने अटोमोबाइलका विद्युतीय मोटरबाट अपेक्षित नाफा कमाउन कठिन भइरहेको छ । उनले भनेका छन्, ‘ड्रोनको व्यवसाय निकै राम्रो छ । अहिले हाम्रो कम्पनीका लागि अटोमोबाइल मोटरको व्यवसाय त्यति नाफामूलक छैन ।’