मंगलगढी-काँक्रेविहार सडक अलपत्र

वीरेन्द्रनगरको मंगलगढी-काँक्रेविहार सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ ।

सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र पारेपछि कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी जफत गरेको हो ।

पटक-पटक ताकेता गर्दा पनि काम नगरेपछि धरौटी रकम जफत गरिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरि शर्मा धितालले जानकारी दिए ।

उनका अनुसार कम्पनीको धरौटी वाफतको ८७ लाख रकम जफत गरिएको छ ।

‘नियम अनुसार ८७ लाख रकम जफत गरिएको छ । कम्पनीलाई अब कालोसूचीमा राख्ने तयारी भइरहेको छ, ‘सूचना अधिकारी धितालले अनलाइनखबरसँग भने, ‘हामीले धेरै पटक ताकेता गर्दा पनि काम नगरेपछि पेस्कीवाफतको रकम जफत गरिएको हो ।’

लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुःख दिने गरेको छ ।

सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका कारण कार्यालयले कानुनी कदम चाल्नु परेको निर्देशनालयका सूचना अधिकारी धिताल बताउँछन् ।

सजाय स्वरूप धरौटी रकम जफत गरिएको भन्दै उनले कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए ।

निर्देशनालयले सडक स्तरोन्नतिका लागि अमर-सिस्ने नेपाल-मेघा कम्पनीसँग २०७८ मंसिरमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार कम्पनीले १५ असार २०८० सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको थियो ।

म्याद थपिएको समय पनि गुज्रिन थालेपछि कम्पनीको पेस्की रकम जफत गरिएको सूचना अधिकारी धितालले बताए ।

उक्त सडक यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर अघि बढाएका थिए ।

तर अहिले निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको थियो । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो ।

२४ सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको निर्देशनालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार कम्पनीले हालसम्म २ करोड ७७ लाख रूपैयाँ भुक्तानी लिएको छ । सो कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *