‘कोमा’मा गोरखकाली रबर उद्योग

गोरखा : गत वर्ष प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोरखामा चुनाव प्रचार–प्रसारमा हिँड्दा गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने भाषण गरेर भोट मागे।

मतदाताले पनि पत्याए र भोट खन्याए। तर एक वर्ष बित्दा पनि उद्योग चलाउने कुनै सुरसार नेदेखे पनि मतदाता निराश छन्।

कुनै बेला नेपालको ४० प्रतिशत टायरको माग धानेको गोरखकाली रबर उद्योग अहिले कोमामा छ।

गोरखा नगरपालिका १३ मझुवाको ७३० रोपनी क्षेत्रफलमा फैलिएको रबर उद्योगको अहिले धुकधुकीमात्र बाँकी छ।

२०७१ सालको चैत २३ गतेबाट उत्पादन बन्द भएको यस उद्योग २०७२ को भूकम्पपछि पूर्णरूपमा बन्द भएको हो।

२०४२ सालमा १ करोड १४ लाख रुपैयाँमा खरिद गरिएको ६ सय ८२ रोपनी जग्गा बेवारिसे बनेको छ। उद्योग खयरको जंगलले ढपक्कै छोपेको छ।

करोडौंका मेसिनमात्र होइन, करोडौंका भवन पनि थोत्रिएका छन्। टायर उत्पादनको काम नहुँदा मेसिन र कच्चापदार्थ कवाडीमा परिणत भएको छ।

‘हामीलाई उद्योगभित्रको मेसिन रेखदेख गर्ने अनुमति छैन’, सुरक्षा गार्ड गंगाप्रसाद गौतम भन्छन्, ‘उद्योगको कम्पाउन्ड वरिपरिको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौं।’

राज्यको अर्बौंको सम्पत्ति धुलोमाटो भएको टुलुटुलु हेरेर बस्नुपर्दा मन भक्कानिने उनी बताउँछन्।

गुड्दागुड्दैका चारवटा गाडी र केही मोटरसाइकल उद्योगभित्र थोत्रिएका छन्।

उद्योगभित्रको झाँडी जंगली जनावरको बासस्थान बनेको छ। एक्लै उद्योग परिसर चाहार्न सुरक्षा गार्ड पनि डराउने अवस्था छ।

कार्यालय, उत्पादन कक्ष, प्रशोधन कक्ष, स्टोरलगायत सबै कोठाचोटा ह्वाङ्गै छन्।

उद्योगमा व्यावसायिक उत्पादन २०५० को भदौबाट भएको स्थापना कालदेखि त्यहाँ काम गरेका मजदुर ईश्वर परियार बताउँछन्।

सो उद्योग नेपाल सरकारको ३८ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको ३८ प्रतिशत, पब्लिक सेयर २० प्रतिशत र बाँकी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट र एनआईडीसीको करिब ५० करोड लगानीमा ४० को दशकमा स्थापना भएको थियो।

रसियन प्रविधिको यो रबर उद्योग चिनियाँ निर्माण कम्पनी चाइना नेसनल कन्स्ट्रक्सन कम्पनी(सीएनसीसी)ले निर्माण गरेको थियो।

२४ घण्टामा ६२४ थान टायर उत्पादन गर्नसक्ने क्षमता भएको रबर वार्षिक ट्रक टायर ८० हजार र अन्य प्रकारका ४० हजार टायर उत्पादन क्षमता रहेको यो उद्योगले सुरु–सुरुमा वार्षिक लक्षित ८८ हजार थान टायर उत्पादन गरेर रेकर्ड कायम गरेको थियो।

त्यतिबेला उद्योगमा ४५४ जना कर्मचारी, मजदुर कार्यरत थिए। उद्योगको नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्जलगायत प्रमुख सहरमा ३० ठाउँमा बिक्री डिपोहरू थिए।

‘नेपालमा टायरको ४० प्रतिशत बजार हाम्रै उत्पादनले ओगटेको थियो’, तत्कालीन जिएम विनोदकुमार तिवारी भन्छन्, ‘२०५४ सालतिर उद्योग नाफामा गएर सीएनसीसीलाई ५० करोड लोन पनि तिरेको हो।’ स्थापनाको १४ वर्षसम्म नाफामा रहेको उद्योग २०६२÷०६३ पछि राजनीतिक हस्ताक्षेपका कारण १० वर्ष नपुग्दै बन्द भयो।

एमाले सरकारका बेला लक्ष्मीदास मानन्धरलाई सञ्चालक समितिको अध्यक्ष बनाएपछि उद्योगको टायरमा ‘ब्रेक’ लागेको थियो।

फेरि रबर उद्योगका विषयमा अनभिज्ञ पाँचौं तहका दिनेशकुमार बर्तौलालाई एक्कासि १० औंँ तहका जिएम रहने ठाउँमा महाप्रवन्धक बनाएर राजनीतिक विजारोपण भएको थियो।

त्यसपछि माओवादीले राजनीतिक अखडा बनायो। व्यवस्थापन लथालिंग हुन थालेपछि मजदुर कर्मचारी उद्योग बन्द गरेर राजनीतिक आन्दोलनमा जान्थे।

माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी चूडामणि खड्काले रबर उद्योगको क्वाटरलाई आफ्नो क्वाटर बनाए। उद्योग राजनीति गर्ने थलो नै हुन थाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *