उपत्यकामा बिआरटी बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति

भनेको बेला सार्वजनिक यातायात नपाउने पाए पनि अत्यधिक जाम र भिडका कारण भक्तपुर–काठमाडौं यात्रा गर्ने सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आइरहेका छन् ।

निर्धारित भाडा तिर्दा पनि गुणस्तरीय सेवा नपाउँदा यस क्षेत्रका यात्रुले समयको बर्बादी र स्वास्थ्यमा समेत असर परिरहेको गुनासो गरिरहेका थिए ।

अब यस रुटका यात्रुहरूलाई राहत मिल्ने गरी सरकारले सुधारिएको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले स्वीकृति दिएको छ ।

बिआरटी बस सञ्चालनपछि ३५ मिनेटमै यो गन्तव्य पार हुन्छ, हाल यो दूरी पार गर्न डेढ–दुई घन्टासम्म समय लाग्ने गर्छ ।

उपत्यकामा पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको बस सेवा (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न सकिने अध्ययनले देखाएको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बनेको काठमाडौं उपत्यकामा डेडिकेटेड लेनमा ठूला बस सञ्चालन गर्नेसम्बन्धी अध्ययन कार्यदलले गरेको अध्ययनमा यस्तो देखिएको हो ।

सरकारले सुधारिएको बस सेवा सञ्चालनका लागि गत ११ वैशाखमा कार्यदल गठन गरेपछि २१ जेठदेखि ५ असारसम्म अध्ययन गरेको थियो ।

अध्ययनमा उपत्यकाको बढी यात्रुको चाप हुने क्षेत्रमा सुधारिएको बस सेवा सञ्चालन गर्न सकिने देखिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।

उनका अनुसार ६ असारमा अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा पेस गरिएको थियो ।

बैठकले उक्त बस सेवा सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो ।

‘अध्ययन सकेपछि प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन पेस गरिसकेका थियौँ,’ महानिर्देशक भट्टराईले भने, ‘कार्यालयबाट स्वीकृति पाएपछि विभागले थप गृहकार्य गरिरहेको छ ।’

उनका अनुसार स्वीकृतिसहित विभागलाई गृहकार्य गर्न निर्देशन आएको छ ।

पत्रमा सुरुको चरणमा सूर्यविनायक–रत्नपार्क खण्डमा बस सञ्चालन गर्न अनुरोध गरेको छ ।

उक्त बस सेवा सञ्चालनपछि यात्रुहरू ट्राफिक जाममा नपर्ने, गन्तव्यमा छिटो पुग्ने र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढ्ने विश्वास छ ।

नेपालमा यस्तो सुविधासहितको बस सञ्चालन पहिलो हुनेछ ।

यसअघि सन् २०१८ मा पनि दु्रत बस सेवा सञ्चालनबारे लगानी बोर्डको टोलीले अध्ययन गरेको थियो  ।

उक्त अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय, तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतमा बुझाएको थियो  ।

अध्ययनले द्रुत बस सञ्चालनको सम्भावना देखाए पनि सरकारले बेवास्ता गर्दै आएको थियो ।

तर, पछिल्लो समय यसबारे प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले प्राथमिकतामा राखेपछि बस सेवा सञ्चालनको सम्भावना बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *