पूर्वाधार विकास कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि प्रगति देखिने गरी काम नभएको बताए।
‘गत असारमा ठेक्का सम्झौता भएको थियो, त्यसको सात महिनापछि शिलान्यास गरियो,’उनले भने, ‘शिलान्याससँगै ठेकेदार सम्पर्कविहीन भए।’
त्यसपछि पनि दोस्रोपटक सडक शिलान्यास गरिएको आफूहरूले सुनेको बताए।
इन्जिनियर पाण्डेले निर्माण कम्पनीलाई काम सुरु गर्न पटक–पटक ताकेता गरिरहेको बताए।
कर्णाली करिडोर (खुलालु–हिल्सा सडक) अन्तर्गत शान्तिघाट देखि रास्कोट नगरपालिकाको केन्द्रसम्म जाने उक्त १२ किलोमिटर सडक फराकिलो बनाउन र कालोपत्रे गर्न चार वर्ष समय लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ।
३८ करोड ४९ लाख ५७ हजार ७ सय ७६ रूपैयाँको ठेक्कामा निर्माण कम्पनीले घटेर २५ करोड ५५ हजार ५१२ रूपैयाँमा सम्झौता गरेको थियो ।
इन्जिनियर पाण्डेका अनुसार पहिलो पटक निर्माण कम्पनीले सडक चौडा गर्ने काम सम्पन्न गर्नुपर्ने थियो।
‘अहिलेसम्म शिलान्यास गरेको ठाउँमा स्काभेटरले खन्ने, ग्याविन राख्नेबाहेक ठूलो काम भएको छैन,’ उनले भने, ‘सडक फराकिलो बनाउने, ग्याविन भर्ने, पक्की नाला निर्माण गर्नेलगायतका प्रारम्भिक काम मात्र सुरु भएका छन्।
निर्माण व्यवसायी देवीदत्त भट्टले केही समयभित्रै काम धमाधम सुरु गर्ने बताए।
केही प्राविधिक समस्याले निर्माण सामग्री र ठूला उपकरणहरू लिन समस्या भएकाले काम गर्न नसकेको बताए।
उनले भने ‘तत्कालै निर्माण सामग्री, उपकरण र जनशक्ति पठाएर काम सुरु गर्छु।’भट्टले दुई वर्षसम्म काम सुरु हुन नसके पनि बाँकी रहेको दुई वर्षमा निर्माण सम्पन्न गर्ने बताए ।
निर्माण व्यवसायी भट्ट काम सुरु नगरी सम्झौता अनुसार २० प्रतिशत रकम लिएर गुमनाम भएका हुन्।
उनले दुई वर्षको अवधिमा केही प्रतिनिधि खटाएर सडको माटो फल्ने र ग्याविन भर्ने काम मात्र गरेका छन्।
निर्माण कम्पनीका सामान पनि अलपत्र अवस्थामा छाडिएको छ। अहिले सडक जीर्ण अवस्थामा छ। उनले सडक कालोपत्रे गर्न समयमै ध्यान नदिँदा स्थानीयले सास्ती खेप्नु परेको छ।