मुलुकको विद्युत् उत्पादन क्षमता करिब ८४ हजार मेगावाट छ। तर, हाल करिब ३ हजार मेगावाट उत्पादन भइरहेको छ।
पानीको उपयोगिता बढाउनका लागि हरित हाइड्रोजन इन्धनको विकासमा सरकारले चासो बढाउन थालेको छ।
विकसित मुलुकहरूले साना सवारीदेखि, लामादुरीका रेलसम्म हाइड्रोजन इन्धनबाट चलाउन सुरु गरिसकेकाले नेपालले पनि सम्भावनालाई प्रयोगमा ल्याउने गरी नीति तर्जुमा अघि बढाएको छ।
नेपालले राष्ट्रिय हाइड्रोजन नीति ल्याउन लागेको ऊर्जा सचिव दिनेश घिमिरेले बताए।
जलवायु परिवर्तनको बढ्दो असर, जलविद्युत् उत्पादन क्षमताको प्रश्न, विश्वमा इन्धनको स्वरूपमा भइरहेको परिवर्तन, कार्बन उत्सर्जन कम गर्ने विश्वको नीतिका कारण नेपालले पनि जलविद्युत्सँग संयोजन गर्न सकिने वैकल्पिक स्रोतको उत्पादनअन्तर्गत हाइड्रोजनलाई जोड दिन लागेको घिमिरे बताउँछन्।
नेपालमा जलविद्युत् विकासले राष्ट्रिय प्राथमिकता पाइरहेको छ। आजको दिनसम्म करिब २६ सय मेगावाट राष्ट्रिय प्रणालीमा जोडिसकेको छ भने यही असारसम्म ३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने बताइएको छ।
नदी प्रवाहमा आधारित जलविद्युत् उत्पादनको मुख्य अंश भएका कारण वर्षामा विद्युत् खेर जाने र हिउँदमा पानीको सतह घटेसँगै बिजुली अपुग हुने अहिलेको हाम्रो विडम्बना हो।
“गत वर्षबाट नै वर्षायाममा बिजुली बढी भइरहेको छ। आफ्नै विद्युत्को खपत गर्दै हाइड्रोजन उत्पादन गर्ने सरकारले नीति लिँदैछ।
हाइड्रोजनलाई बहुउपयोगी हुने गरी उत्पादन र खपत गर्ने नीतिले व्यवस्था गर्नेछ”, दिनेशकुमार घिमिरे, सचिव, ऊर्जाले भने ।
एक समयमा बढी बिजुली हुने र एक समयमा आयात गर्नुपर्ने बाध्यताले विद्युत् खपत बढ्न सकिरहेको छैन।
नेपालको कुल राष्ट्रिय माग करिब १५ सयको हाराहारीमा छ। यो हिसाबले आउँदो वर्षामा करिब १५ सय मेगावाट नै बिजुली धेरै हुँदैछ।
यही खेरा जाने बिजुलीलाई इलेक्ट्रोलाइसिस गरी हाइड्रोजनमा उत्पादन गर्न सकिन्छ भन्ने नयाँ अवधारण अघि सार्न लागिएको ऊर्जा सचिव घिमिरेले अन्न्पूर्ण पोस्ट्सँग भने।
‘गत वर्षबाट नै वर्षायाममा बिजुली बढी भइरहेको छ। आफ्नै विद्युत्को खपत गर्दै हाइड्रोजन उत्पादन गर्ने सरकारले नीति लिँदैछ।
हाइड्रोजनलाई बहुउपयोगी हुने गरी उत्पादन र खपत गर्ने नीतिले व्यवस्था गर्नेछ,’ सचिव घिमिरे बताउँछन्।
हाइड्रोजन इलेक्ट्रोलाइजर भनिने मेसिन प्रयोग गरेर पानीबाट प्रशोधन गरिन्छ, जसले विद्युतीय प्रवाहको प्रयोगले पानीलाई यसको घटक, हाइड्रोजन र अक्सिजनमा विभाजित गर्छ।
नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ, उक्त ग्यासलाई हरित हाइड्रोजन भनिन्छ।