काठमाडौं : हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ। पानीबाट बिजुली निस्कन्छ। बिजुलीको सहयोगमा पानीलाई टुक्राएर हाइड्रोजन र अक्सिजनलाई अलग–अलग गर्न सकिन्छ।
टुक्रिएपछि दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन तयार हुन्छ। दुवै महत्त्वपूर्ण छन्।
अक्सिजन जीवन रक्षक हो। हाइड्रोजन ऊर्जा हो। विज्ञ भन्छन्, ‘यसको बिक्रीबाट देशले मनग्य आम्दानी गर्न सक्छ।’
स्वीट्जरल्यान्डले हाइड्रोजनबाट लामो दूरी चल्ने रेल सञ्चालन गरिसकेको छ।
छिमेकी भारतले २ साताअघि मात्रै हाइड्रोजनबाट चल्ने ट्रक सार्वजनिक गरेको छ।
हाइड्रोजनबाट रेल चलाउन ‘पाइलट टेस्टिङ’ गरिरहेको छ।
अमेरिका र युरोपेली मुलुकमा हाइड्रोजन इन्धनबाट साना दूरीका कार, जिप सञ्चालनमा छन्।
जर्मनलगायतका देशहरूले हाइड्रोजन ऊर्जाबाट सिमेन्ट र फलाम उद्योग सञ्चालन गरिरहेका छन्।
विज्ञहरूका अनुसार विश्वमा हाइड्रोजन ऊर्जाबारे अनुसन्धानमा तीव्रता छ।
विश्वले सन् २०५० सम्ममा शून्य कार्बन नीति लिएको छ। यो नीतिलाई कार्यान्वयनका लागि ‘हरित हाइड्रोजन’ ऊर्जामा जानु उपयुक्त हुने विज्ञहरू बताउँछन्।
विश्वका अधिकांश देशमा कोइला वा अन्य पेट्रोलियम पदार्थ प्रयोग गरी इनर्जी उत्पादन गरिन्छ र हाइड्रोजन निकालिन्छ।
तर, नेपालमा पानीबाट बिजुली निकालेर त्यसबाट हाइड्रोजन उत्पादन गर्ने हुँदा हरित हाइड्रोजन उत्पादनमा नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरू बताउँछन्।
नेपालमा उत्पादित हाइड्रोजनको ठूलो बजार भारत हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन्।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हाइड्रोजनमा सहकार्यका लागि इच्छा देखाएको सहभागीहरू बताउँछन्।